अब भक्तपुरका सडकमा पनि बिजुलीका तार भूमिगत गरिने

भक्तपुर । भक्तपुर नगरपालिकाले आफ्ना मुख्य सडकमा रहेका अव्यवस्थित तार भूमिगत गर्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

 

नेपाल विद्युत् प्राधिकरणको भक्तपुर-ललितपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भक्तपुरमा तार भूमिगत गर्ने तयारी भएको हो । भक्तपुरमा बिजुलीका तार भूमिगत गर्न रुटहरुका बारे छलफल भएता पनि हालसम्म रुटको टुंगो भने लागेको छैन ।

 

तार भूमिगत एशियाली विकास बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकारको सहयोगमा हुने बताइएको छ । तारहरु मेसिनबाट खाल्डो खन्ने आधुनिक प्रविधि उपयोग गरी भूमिगत गरिने छ ।तार भूमिगतको विषयमा ख्वप इन्जिनीयरिङ कलेजका प्राविधिकले अध्ययन गरी योजना पेस गर्ने सहमति भएको छ ।

 

विद्युत् प्राधिकरणले रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रका विद्युतीय तारहरु भूमिगत गर्न सुरु गरिसकेको छ । फागुन ५ गते औपचारिक रुपमा प्रधानमन्त्री केपी शर्माओलीले उद्घाटन गरेर तार भूमिगत सुरु गरिएको थियो ।

 

प्राधिकरणले ‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ-ठाउँमा प्वाल पारेर तार भूमिगत गर्ने काम भइरहेको छ । यस प्रविधिबाट काम गर्दा सबै स्थानमा सडक खन्नु पर्ने अवस्था आउँदैन ।रत्नपार्क र महाराजगञ्जका केन्द्र आसपासको ठाउँमा तार भूमिगत गर्ने काम भारतको केइआइकके कम्पनीलाई ठेक्का दिइएको छ ।

 

विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न एशियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत् वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन ।

 

बिजुलीका तार भूमिगतको काम २०७८ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । अन्य केन्द्रमा पनि भूमिगत गर्नका लागि बोलपत्र आह्वान गरी मूल्यांकन भइरहेको प्राधिकरणले जनाइएको छ ।

रानीपोखरी पुनर्निर्माणमा हुकिङ गरी बिजुली चोरेर प्रयोग, ३ लाख जरिवाना Read Previous

रानीपोखरी पुनर्निर्माणमा हुकिङ गरी बिजुली चोरेर प्रयोग, ३ लाख जरिवाना

अब ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाइने Read Next

अब ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाइने