विदेश जाने बढे पनि रेमिट्यान्स भने घट्यो

काठमाडौं । चालू आर्थिक वर्षमा रोजागारीका लागि विदेशिनेको संख्या बढे पनि विदेशबाट भित्रिने रेमिट्यान्स भने घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालू आवको ७ महिनामा रेमिट्यान्स ०.५ प्रतिशतले घटेको छ ।

 

राष्ट्र बैंकका अनुसार चालू आवको माघसम्ममा विश्वका विभिन्न देशबाट ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा रेमिट्यान्स प्रवाह २८.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरको रेमिट्यान्स प्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ । गत आवमा सो रेमिट्यान्स प्रवाह १६ प्रतिशतले बढेको थियो ।

 

चालू आवको ७ महिनामा विदेश जानेको संख्या भने बढेको छ । सो अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारमा जानेको संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

 

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालू आवको ७ महिनामा ०.६ प्रतिशतले घटेको छ । गत आवमा सोही अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या ४.९ प्रतिशतले बढेको थियो ।

 

नेपालमा खाडी मुलुक साउदी, कतार, यूएई लगायत अमेरिका, जापान, युरोपियन मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ ।

सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग, धितोपत्र बोर्डमा छलफल जारी Read Previous

सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग, धितोपत्र बोर्डमा छलफल जारी

सर्लाहीका चिनी उद्योग धमाधम बन्द Read Next

सर्लाहीका चिनी उद्योग धमाधम बन्द