कृषि विकास बैंकले माइतीघर मण्डलाको सौन्दर्यकरण गर्ने

काठमाडौँ । माइतीघरमण्डला क्षेत्रको सुधारका लागि काठमाडौं महानगरपालिकाले कृषि विकास बैंकसँग सम्झौता गरेको छ ।

 

मण्डलाको मर्मत, सौन्दर्यकरण तथा आधुनिकीकरणका लागि महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंककातर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रवचन्द्र गौतमले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।मण्डला क्षेत्रको व्यवस्थापन बैंकलाई दिने विषयमा महानगरले गएको मंसिर ८ गते निर्णय गरेको थियो ।

 

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले माइतीघर मण्डला क्षेत्रलाई बाहै्र महिना फूल फुल्ने बनाउन आग्रह गरेका छन् । ‘मण्डला क्षेत्रमा कुनै पनि समय फूलबिहिन बनाउन हुँदैन, फूलसँगै यस क्षेत्रको पूर्वाधार र हरियालीमा कुनै पनि कमी नहोस,’ प्रमुख शाक्यले भने ।

 

यस्तै बैंकका कामु उपमहाप्रबन्धक गौतमले, महानगरले उपलब्ध गराएको डिजाइन अनुसार बगैंचा निर्माण गर्ने बताए । उनले बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट तथा बिरुवा लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्वलाई बैंकले पूरा गर्ने प्रतिबद्धता जनाए ।

 

सम्झौताबमोजिम अहिले भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरबदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गरिने छ । आगामी ५ वर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंकले नै व्यहोर्ने छ ।

 

उक्त क्षेत्रमा बैंकले विद्युतीय माध्यमबाट आफ्नो संस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्नेछ । राष्ट्रिय पर्वसँगै महानगरले अनुरोध गरेको अवस्थामा मण्डलालाई बहु प्रयोग गरिने छ । मण्डला वरिपरिका ट्राफिक आइल्याण्डहरुलाई कलात्मक ढङ्गबाट मर्मत गर्ने र सौन्र्दयकरण झल्काउन आवश्यक पर्ने फूल बोटबिरुवा लगाउने काम बैंकले गर्नेछ ।

घरेलु तथा साना उद्योग महासंघद्धारा घोषित कार्यक्रम स्थगन Read Previous

घरेलु तथा साना उद्योग महासंघद्धारा घोषित कार्यक्रम स्थगन

एनआइसी एशियाका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा १५% छुट Read Next

एनआइसी एशियाका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा १५% छुट