नागरिक लगानी कोष शुरु गर्‍यो पेन्सन योजना

काठमाडौं । नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कोषले नागरिक पेन्सन योजना शुरु गरिएको कोषले जनाएको छ ।

 

बचत संकलनको दायरालाई फराकिलो बनाउनको लागि स्वरोजगार एवं वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेटने गरी पेन्सन योजना सुरु गरिएको हो ।

 

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले मुलुकको समग्र राष्ट्रिय उत्पादकत्वमा समेत योगदान पुर्याउने नीति अवलम्बन गरेको भन्दै सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानमा योगदान पुर्याउने तर्फ काम गरिरहेको बताए ।

 

पूँजी बजारको स्थायित्व र विकासमा अहंम भूमिका खेल्ने उद्देश्यले कोषले पूँजी बजारको विकास र विस्तारको लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेड दर्ता गरिसकेको नेपालले जानकारी दिए ।

 

मुलुकको आर्थिक विकास र समृद्धि हासिल गर्न सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सहकार्य गरी ठूला परियोजनाहरूमा लगानी गरी मुलुकको आर्थिक वृद्धिमा सहयोग पुर्याउन र मुलुकभित्र रोजगारी सृजना गर्न कोष लागि परेको पनि उनले बताए ।

 

कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले देशको आर्थिक वृद्धि दरमा टेवा पुर्याउने, रोजगारी सृजना गर्ने एवं पूर्वाधार विकासका आयोजनामा लगानी विस्तार गरी सरकारको समृद्ध नेपाल बनाउने महाअभियानमा कोषले सहयोग पुर्याइरहेको बताए ।

 

उनले कोषको लगानीलाई विविधीकरणका साथ व्यवस्थापन गर्न उपयुक्त वातावरण सृजना गर्ने कार्यमा सम्बद्ध निकायबाट विगतमा झैं पूर्णरूपमा सहयोग प्राप्त भई नै रहने धारणा व्यक्त गरे ।

 

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषले १ खर्ब ४० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत परिचालन गरेको छ । यो अवधिमा कोषले १ खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ ।

चलचित्र उद्योगलाई राहत दिन नेपाल चलचित्र संघको माग, सबै क्षेत्रको अध्ययन गरिरहेको अर्थमन्त्रीको भनाई Read Previous

चलचित्र उद्योगलाई राहत दिन नेपाल चलचित्र संघको माग, सबै क्षेत्रको अध्ययन गरिरहेको अर्थमन्त्रीको भनाई

घरेलु तथा साना उद्योग महासंघद्धारा घोषित कार्यक्रम स्थगन Read Next

घरेलु तथा साना उद्योग महासंघद्धारा घोषित कार्यक्रम स्थगन