चैत भित्रै इम्बोस्ड नम्बर प्लेट छाप्ने तयारीमा सरकार, कति लाग्छ शुल्क

काठमाडौं । सरकारले लामो समय देखि रोकिएको इम्बोस्ड नम्बर प्लेट छाप्न सुरु गर्ने भएको छ । अबको केहि दिन भित्रै छाप्न सुरु गर्ने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागले यसका लागि प्रदेशहरुसँग समन्वय गर्दै छ ।

 

विभागका अनुसार कर कसले उठाउने भन्ने बारे निष्कर्ष भईसकेको छैन । केन्द्रिय सरकारले उठाउने कि प्रदेश सरकारले उठाउने भन्ने बारे छलफल भइरहेको बिभागले जनाएको छ । यसको निष्कर्ष आए पश्चात इम्बोस्ड नम्बर प्लेट छाप्न सुरु गरिने विभागको भनाई छ ।

 

विभाग इम्बोस्ड नम्बर प्रिन्टका लागि आवश्यक तयारीको अन्तिम तयारीमा पुगिसकेको छ । कार्यालयको व्यवस्था र प्रिन्टर मेसिन सेटको काम भइरहको छ ।

 

विभागले नम्बर प्लेटमा लाग्ने करको दर दुई पाङ्ग्रे, तीन पांग्रे, चार पाङ्ग्रे र ठुला सवारीसाधन गरेर चार भागमा विभाजन गरेर निर्धारण गरेको छ । दुई पाङ्ग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ, तीन पाङ्ग्रेका लागि २ हजार ९ सय रुपैयाँ, चार पांग्रेका लागि ३ हजार २ सय र ठूला सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ कर निर्धारण गरिएको छ ।

 

विभागले अदालतको पूर्णपाठ आए सँगै इम्बोस्ड नम्बर प्रिन्टको हुने बताएता पनि प्रदेश स्तरीय भएको कारणले प्रदेशका कार्यालयहरुसँगको समन्वयमा ढिला भएको हुँदा प्रिन्ट शुरु हुन नसकेको हो ।

 

गत मंसिर २७ मा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायधीशको संवैधानिक इजलासले अधिवक्ताद्वय भरतकुमार बस्नेत र राजन बुर्लाकोटीले हालेको उक्त रिट खारेज गर्ने निर्णय गरेको थियो । अदालतमा परेको रिट खारेज भएको ३ महिना पछि विभाग इम्बोस्ड नम्बर प्रिन्ट सुरु गर्ने अन्तिम तयारीमा पुगेको छ ।

 

सरकारले इम्बोस्ड नम्बर प्लेट प्रिन्ट गर्ने ठेक्का बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनी डेकाटुर टाइगरसँग गरेको छ । ४ करोड ३७ लाख ८७ हजार ५०० डलरको यो ठेक्कामा पाँच वर्ष भित्र २५ लाखवटा इम्बोस्ड नम्बर प्लेट बनाउने सम्झौता भएको छ ।

 

यातायात व्यवस्था विभागका अनुसार अदालतमा रिट पर्नु भन्दा अगाडि लगभग २ हजारको हाराहारीमा इम्बोस्ड नम्बर प्लेट सरकारी तथा निजी गाडिहरुमा जडान गरिएको थियो ।

 

‘शुरुमा इम्बोस्ड नम्बर प्लेट सरकारी सवारीसाधनमा अनिवार्य गरिने छ । त्यसपछि विस्तारै निजी सवारीसाधनमा अनिवार्य गर्दै लगिने योजना छ’, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए ।

 

‘इम्बोस्ड नम्बर प्लेट बनाउने कम्पनी तयारी अवस्थामा छ, हामीले कर्मचारीहरुलाई आवश्यक तालिम दिइरहेका छौं । प्रदेशसँग समन्वयन गरेर अघि बढ्ने हो, ढिला भएको छैन,’ महानिर्देशक हमालले बताए ।

 

उनले चैत भित्र इम्बोस्ड नम्बर प्रिन्ट सुरु गर्ने बताए । हाल कम्प्युटरहरु सबै राख्ने तयारी भइरहेको उनले जानकारी दिए । इम्बोस्ड नम्बर प्लेट जडान गरिएका सवारीमा एक प्रकारको चिप राखिने छ, जसमा सवारीसाधनका बारेमा सबै जानकारी हुन्छ ।

 

विभागले विभिन्न स्थानमा गेट निर्माण गर्ने छ । सो गेट पार गर्ने सवारीसाधनको विवरण चिप मार्फत ‘अटो इन्ट्री’ हुनेछ । इम्बोस्ड नम्बर भएका सवारीहरुको जानकारी गेटबाट पास हुनासाथ ट्राफिक प्रहरीको कार्यालयमा पुग्ने छ ।

 

विभागले नम्बर प्लेटमा लाग्ने करको दर दुई पाङ्ग्रे, तीन पांग्रे, चार पाङ्ग्रे र ठुला सवारीसाधन गरेर चार भागमा विभाजन गरेर निर्धारण गरेको छ । दुई पाङ्ग्रे सवारीसाधनका लागि २ हजार ५ सय रुपैयाँ, तीन पाङ्ग्रेका लागि २ हजार ९ सय रुपैयाँ, चार पांग्रेका लागि ३ हजार २ सय र ठूला सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ कर निर्धारण गरिएको छ ।

बीमा समिति खारेज गरी शक्तिशाली प्राधिकरण स्थापना गरिने Read Previous

बीमा समिति खारेज गरी शक्तिशाली प्राधिकरण स्थापना गरिने

प्रधानमन्त्री र मिर्गौला दाताबीचको नाता प्रमाणितको दस्तावेज माग Read Next

प्रधानमन्त्री र मिर्गौला दाताबीचको नाता प्रमाणितको दस्तावेज माग