पर्यटन विकास गर्न छुट्टै ‘क्यासीनो जोन’ स्थापना गरिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास गर्न र क्यासिनो व्यवसायलाई व्यवस्थित गर्नका लागि छुट्टै ‘क्यासीनो जोन’ बनाउनुपर्ने बताएका छन् । उनले अब आउँदो १० वर्षे योजनामा क्यासीनो जोन बनाउने विषयलाई पनि प्राथमिकतामा राखिने बताएका छन् ।

 

क्यासीनो सञ्चालनका लागि छुट्टै व्यवस्थित ठाउँ बनाउने र त्यहाँ अन्य होटल तथा व्यवसायलाई समेत आधिकारीक रुपमा सञ्चालनको व्यवस्था मिलाइने गरी योजना बनाइने मन्त्री भट्टराईले बताए ।

 

आइतबार आफ्नो १० वर्षे योजना पेश गर्न मन्त्रालयमा आएका प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिलाई उनले क्यासीनो जोन तीनै तहको सरकारको साझेदारीमा बनाइनु पर्ने बताएका छन् ।

 

‘होटलमा मात्र छुट्टै क्यासिनो होइन, छुट्टै स्थानमा क्यासिनो जोनको विकास गर्ने र त्यसलाई साझेदारी गरेर पीपीपी मोडलमा जानेछाँै,’ भट्टराइले भने ।

 

उनले प्रत्येक १० वर्षमा पर्यटन वर्ष मनाइनु पर्ने भन्दै दीर्घकालीन ढंगले योजना छनोट गर्न सबै प्रदेश तथा स्थानीयलाई आग्रह गरेका छन् । प्रत्येक बन्ने योजना राष्ट्रिय उत्पादनलाई बढाउने गरी अघि बढाइनु पर्ने मन्त्री भट्टराईको भनाइ छ ।

 

उनले प्रदेश तथा स्थानीय तहले हेर्ने ठूला योजनामा केन्द्रीय सरकारको साझेदारीमा गर्न सकिने भन्दै साना योजनाहरु प्रदेश तथा स्थानीयलाई आफै गर्न अनुरोध गरेका छन् ।

 

प्रत्येक क्षेत्रमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिनुपर्ने र सो स्थानबाट समग्रमा जानकारी लिन सक्ने व्यवस्था गर्न उनले निर्देशन दिएका छन् ।उनले गन्तव्य स्थललाई हिल स्टेशनको रुपमा विकास गर्न सकिने र मनोरञ्जन साधन भएको प्याकेज व्यवस्थापन गर्नु पर्ने बताए ।

 

यस्तै काठमाडौंमा रहेका विश्व सम्पदामा परेका स्थानहरुलाई साइकल लेन जस्ता पर्यटकका लागि सहज हुने पूर्वाधार निर्माण गरी आकर्षण बनाइनु पर्ने उनले बताए ।

 

सम्पदाहरुका लागि मात्र सम्पदा भ्रमणको प्याकेज बनाउन उनले निर्देशन दिए । काठमाडौं भित्रै हाइकिङको व्यवस्थालाई विकास गर्नु पर्ने र सक्दो पर्यटकलाई धेरै दिन टिकाउन सक्ने गरी प्याकेजका योजना ल्याउन उनले निर्देशन दिएका छन् ।

 

पर्यटन क्षेत्रमा जनशक्ति भए पनि त्यो तालीम प्राप्त जनशक्ति नभएको भन्दै उनले जनशक्ति उत्पादनमा पनि योजना बनाउन निर्देशन दिएका छन् ।‘हरेक प्रदेश, जिल्ला, महानगर तथाा नगरपालिकामा जनशक्ति उत्पादनको योजना बनौँ, तालीम दिऊँ, उनीहरुका लागि तालीमको व्यवस्था गरौँ,’ भट्टराईले भने ।

 

जनशक्ति उत्पादनको काम साझेदारी रुपमा गर्न उनले अनुरोध गरेका छन् । जाडोमा पर्यटकलाई तराईतिर तान्ने र गर्मिमा हिमाली क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने खालका योजना बनाउन उनले निर्देशन दिए ।

 

यस्तै उनले संघीय सरकारले अन्तर्राष्ट्रिय जगतमा, प्रदेश सरकारले प्रदेश स्तरमा र स्थानीय तहले स्थानीय स्तरमा पर्यटनको प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताए । उनले प्रत्येक प्रदेश, स्थानीयलाई १० वर्षे पर्यटकीय योजना राख्न निर्देशन दिएका छन् ।

तरकारी आयातमा परेन कोरोना असर, ६ प्रतिशतले बढ्यो आयात Read Previous

तरकारी आयातमा परेन कोरोना असर, ६ प्रतिशतले बढ्यो आयात

पोखरा घुम्न जानेलाई ५० प्रतिशतसम्म छुटको प्याकेज Read Next

पोखरा घुम्न जानेलाई ५० प्रतिशतसम्म छुटको प्याकेज