‘यस्तो घटेको बजारमा पनि मैले निकै राम्रोसँग पैसा कमाएँ’
‘कसरी’
‘मेरो सेन्सले काम गर्छ । मेरो आफ्नै केही सुत्रहरु छन्’
‘त्यसोभए मलाई पनि सिकाइदिनुस् न । अहिले कुन कम्पनीको सेयर किन्दा राम्रो होला ? म सँग अलिकति पैसा छ’
‘युनाइटेड इन्स्योरेन्सको सेयर किन्नुस् । ३ सय प्रतिशत भन्दा बढीको हकप्रद जारी गर्नेवाला छ ।’
चिया पसलमा भेट भएका एकजना लगानीकर्ता सँग भएको संवादको अंश हो यो ।
शुरुमा मैले ती लगानीकर्तालाई आफु सेयर बजारका बारेमा निकै अन्जान भएको बताएको थिएँ । तर, केही समय पछि मैले आफु पनि सेयर बजारको लगानीकर्ता रहेको र कुनै पनि कम्पनीको सेयर किन्दा उक्त कम्पनीको आधारभुत विश्लेषण गरेर मात्र लगानी गर्ने गरेको बताएँ । त्यसैले आधारभुत विश्लेषणको आँखाबाट हेर्दा युनाईटेड इन्स्योरेन्सको सेयर किन्नु हास्यास्पद रहेको बताएँ ।
कोही कम्पनीका बारेमा पढ्छन् । वासलात खोतल्छन् । कम्पनीले दिन सक्ने लाभांशका बारेमा घोत्लन्छन् र लगानी गर्छन् ।
त्यसपछि उनी अलिकति हच्के । र, युनाईटेड इन्स्योरेन्सको सेयर किनेर हकप्रद घोषणा भएपछि केही समय सर्वसाधारण लगानीकर्ताहरु उक्त कम्पनीको सेयरमा झुम्मिदा त्यो कम्पनीको सेयर मूल्य बढ्ने र त्यही बेला आफ्नो सेयर बेचेर निस्कदाँ राम्रो नाफा गर्न सकिने बताए । ‘सेयर बजारमा लगानी गर्ने मेरो रणनीति यही हो,’ उनले भने ।
…….. …….. ……..
‘सेयर बजारमा लगानी गरेर धेरै दुख पाइयो’
‘कसरी’
‘एउटा सानो घर बनाउने पैसा त्यहीँ फस्यो । बेचेर निस्कौं धेरै घाटा छ, पालौं कहिलेसम्म पालौं’
‘कस्ता कम्पनीको सेयर किन्नु भएको थियो ?’
‘नन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनेको छु’
‘किन ती कम्पनीको सेयर किन्नुभएको ?’
‘मेरा साँढुदाजु जनता बैंकमा ब्रान्च म्यानेजर छन् । उनैले भनेर किनेको हुँ’
‘ ए ! के गल्ती गरें जस्तो लाग्छ त अहिले फर्केर हेर्दा ?’
‘लाइफ इन्स्योरेन्सको किन्नु पर्ने रहेछ । नन् लाइफको सेयर किनियो’
…….. …….. ……..
नेपाली सेयर बजारको आम लगानीकर्ताको मनोविज्ञान यस्तै छन् । कोही मानिस अरुलाई ‘उल्लु’ ठान्छन् र तिनै उल्लुका पैसा कुम्ल्याउने ध्याउन्नमा रहन्छन् ।
कोही कम्पनीका बारेमा पढ्छन् । वासलात खोतल्छन् । कम्पनीले दिन सक्ने लाभांशका बारेमा घोत्लन्छन् र लगानी गर्छन् ।
केही लगानीकर्ता ‘धर्का’ (प्राविधिक विश्लेषण) हेरेरै आफ्ना निर्णय गर्छन् । कोहीलाई सेयरका बारेमा लेख्ने अनलाइन र पत्रपत्रिकाले ज्यादै प्रभाव पार्छन् ।
बाँकी भने ठूला भनिने लगानीकर्ता वा ब्रोकरले के गर्दै छन् भनेर चियाउँछन् । र, तिनैको सिको गर्ने प्रयास गर्छन् ।
सबैले आ–आफ्नै रणनीति बनाएका छन् । सबैका आँखामा धेरै भन्दा धेरै पैसा कमाउने सपना छन् । सेयर बजारबाट ‘धेरै’ कमाएका मासिहरुको कथा सुन्छन् र पुकलित हुन्छन् ।
क-कसले कति कमाए उनै जानुन् ।
बुल रन शुरु भएका बेला धेरै नयाँ लगानीकर्ता बजारमा पस्छन् । रमाइलो हुन्छ । हाँसीखुसी चल्छ । मूल्य टुप्पामा पुगेका बेला किन्छन् । बजार घट्न थालेका बेला आत्तिन्छन् । र, कहिल्यै नर्फकने गरि बजार छाड्छन् ।
माथिमा कुराहरुमा यसो घोत्लीदाँ लगानीकर्ताहरु बाह्य ‘फोर्स’मा आधारित भएर आफ्नो लगानी सम्बन्धी निर्णय गरिरहेझैं लाग्छ । ठूला लगानीकर्ता, कम्पनीका वासलात, धर्के विश्लेषण, बजार हल्ला र मिडिया ।
बियर रनमा ब्रोकरको कार्यालयमा कोही हुँदैंन । कर्मचारी ‘झिंगा मारेर’ बस्छन् । सबैका मुख न्याउरो हुन्छ । लगानीकर्ता फाट्टफुट्ट बुकुरे आन्दोलन गर्छन् । ‘नेता’ बन्ने रहर पुरा गर्छन् ।
बजारमा कसैले कमाउनका लागि कसैले गुमाउ नै पर्ने हुन्छ ।
‘यो बजारमा केही त्यस्तो अदृश्य समुह पनि छ, जसले कहिल्यै पैसा गुमाउँदैन । र, सबै सामान्य लगानीकर्ताको पैसा तिनीहरुकै पेटमा पुगेर ‘हजम’ हुन्छ’, केही बुज्रुकहरु यस्ता संभावनाहरु केलाइबस्छन् । निष्कर्ष भेटिएको छैन ।
…….. …….. ……..
माथिमा कुराहरुमा यसो घोत्लीदाँ लगानीकर्ताहरु बाह्य ‘फोर्स’मा आधारित भएर आफ्नो लगानी सम्बन्धी निर्णय गरिरहेझैं लाग्छ । ठूला लगानीकर्ता, कम्पनीका वासलात, धर्के विश्लेषण, बजार हल्ला र मिडिया ।
मानिसहरुले आफ्नो लगानीको मापडण्ड आफैंले आन्तरिक रुपमा तय गर्ने गरेकै पो छैनन् कि जस्तो पनि लाग्छ ।
कुनै अमुक कम्पनी कुन मूल्यमा मेरा लागि खरिद योग्य हो ?
कुन मूल्यमा मैले बेच्नु पर्छ ?
मैले कुनै कम्पनी वा बजारबाट खोजेको नाफा कति हो ?
म किन सेयर बजारमा पसेको ?
मैले मेरो बचतको कति हिस्सा यो बजारमा लगानी गर्ने ?
वा, मैले कतिसम्म ऋण लिएर यो बजारमा लगानी गर्ने ?
मेरो ,जोखिम बहन गर्ने क्षमता कति हो ?
कति घाटा भएपछि मैले ‘स्टप लस’ गर्ने र सेयर बेचेर बजारबाट निक्लने ?
कति नाफा भएपछि मैले लोभ नगरि सेयर बेच्ने ?
आफैंलाई केन्द्रमा राखेर आफैंलाई यस्ता प्रश्नहरु नेपालका कति सेयर लगानीकर्ताले सोधेका होलान् ? सर्सती हेर्दा त्यस्तो सोचेको जस्तो लाग्दैन ।
आफुले आफैंलाई प्रश्न सोध्नु र आफ्नो धरातल भेट्नु परिपक्वताको द्योतक हो । अरुसँग तुलना गर्नु र आफुलाई अरुको मापडण्डको कसीमा घोट्नु सायद अपरिपक्वताको ज्वलन्त उदाहरण पो हो की ?
…….. …….. ……..
जग्गा किन्दा मानिसहरु धेरै कुराको ख्याल राख्छन् । जग्गाको ‘प्लट’ मिलेको छ/छैन खुब बिचार गर्छन् । वास्तु हेर्छन् । बुज्रुकहरुसँग छलफल गर्छन् । इनार वा धारो खन्दा पानी आउँछ कि आऊदैंन बिचार गर्छन् । अलि परम्परागत टाइपका मानिसहरु छन् भने ज्योतिष पनि देखाउलान् । जग्गा किन्नु र घर बनाउनुलाई मानिसहरु निकै महत्व र सम्मानका साथ हेर्छन् ।
सेयरमा गरिने लगानीलाई त्यसरी नहेरे झैं लाग्छ । पैसा त आफैंले कमाएको हो नी । तर, किन भेदभाव ?
सेयर बजार प्रति गरिएको अ-सम्मानका केही उदाहरण हेरौं ।
भाषा सोचको अभिब्यक्ति हो । भाषाले नै विषयबस्तुप्रतिको सोचको गम्भिरता र संलग्नता प्रतिविम्बित गर्ने गर्छ । त्यसैले लगानीकर्ताले प्रयोग गर्ने भाषा तिर लागौं ।
ब्रोकरको कार्यालयको ट्रेडिङरुपमा लगानीकर्ताहरु, ‘मलाई यो सेयर लिइदिनुस’ नभनी, ‘यो सेयर खाइदिनुस्’ भन्ने गर्छन् । त्यस्तै, कसैलाई कुनै कम्पनीको सेयर किन्न सुझाव दिनु परे, ‘यो सेयर किन्नुस्, जित्नुहुन्छ’ भन्ने गर्छन् ।
सेयर बेच्दा त एक कदम अघि बढेर ‘यो सेयर फाल्दिनुस’ भनेको सुनिन्छ । आफ्नो घर, जग्गा वा अन्य मूल्यवान वस्तु बेच्दा ‘फल्दिनुस’ भनेको सुनिन्छ ?
सेयर खाने भनेको के हो ? सेयरमा त लगानी गर्ने पो हो । कुनै पनि कम्पनीको सेयर लगानी गर्नु भनेको सो कम्पनीको घाटा र नाफाको भागिदार बन्नु हो । आफुले दुःख गरेर कमाएको पैसा लगानी गर्दा पनि यति हल्का भाषा !
अझ हार वा जित भनेको त खेल र जुवामा मात्र हुन्छ । लगानीकर्ताकै दिमागको कुनै कुनामा सेयर बजार जुवाघर हो वा खेल हो भन्ने छ भने बजारको विकास कसरी होला ? यो बजार ‘देश बनाउने पैसा’ जम्मा गर्ने क्षेत्र कसरी पो बन्ला !
सेयर बेच्दा त एक कदम अघि बढेर ‘यो सेयर फाल्दिनुस’ भनेको सुनिन्छ । आफ्नो घर, जग्गा वा अन्य मूल्यवान वस्तु बेच्दा ‘फल्दिनुस’ भनेको सुनिन्छ ? सेयर बजारमा यस्ता हल्का भाषाको प्रयोग किन भएको होला ? बजारले आम रुपमा विश्वसनियता र स्वीकार्यता ग्रहण नगरिसकेर ?तर, कुनै पनि क्षेत्र विश्वसनिय हुन त्यस क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु परिपक्व त हुनु पर्यो नी !