कोरोनाको डरले पाँच देशबाट आयातमा रोक

काठमाडौं । सरकारले पाँच देशहरुबाट हुने आयात रोक लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसबाट अती संक्रमित पाँच देशबाट खाद्यान्न र पशुपन्छीजन्य वस्तु आयातमा रोक लगाएको हो ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरि केसीका अनुसार मंगलबारदेखि लागू हुने गरी यो व्यवस्था सुरु गरिएको छ । कोरोना भाइरसबाट अति प्रभाववित देश चीन, दक्षिण कोरिया, इटली, जापान र इरानबाट कुनै पनि प्रकारको पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तु आयात सिफारिस दिने कार्यमा रोक लगाइएको उनले बताए ।

 

‘हामीले कोरोनाबाट अति प्रभावित देशहरुबाट पशु तथा खाद्य वस्तु आयातमा रोक लगाएका छौ । यसले कोरोना भाइरसको संक्रमणलाई नेपालमा प्रवेश गर्न रोक लगाउने हाम्रो विश्वास छ’, उनले चाणक्य पोष्टसँग भने ‘आवश्यक परे अरु पनि कदम चालिने छ ।’

 

कोरोनाबाट सामान्य प्रभावित देशहरुबाट भने आयातमा कुनै रोक लगाइएको छैन ।

 

उनले अन्य सामान्य प्रभावित देशबाट आयात हुने वस्तुमा भने आवश्यकताका आधारमा क्वारेन्टाइन गरी सुरक्षित भएपछि मात्रै आयात गरिने बताए ।

 

भन्सार तथा सुरक्षा निकायसँग समन्वय गरी क्वारेन्टाइनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । हाल काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौं, भैरहवा, नेपालगञ्ज र गड्डाचौकी गरी ८ वटा क्वारेन्टाइन कार्यालय रहेका छन् ।

 

नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रसँग जोडिएका पशुपतिनगर, भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, रानी, भण्टाबारी, माडर, जटही, भिट्टामोड, मलंगवा, औरया, सिरसिया, मटिहर्वा, तातोपानी, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, टिमुरे–रसुवागढी, महेरापुर, वेलहिया, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, दार्चुला, बेलौरी तथा आन्तरिक चेकपोष्ट पथलैया, नागढुंगा र रामनगरमा पत्राचार गरी आयातमा कडाइ गर्न निर्देशन दिइएको छ ।

 

यस्तै झापा, विराटनगर, महोत्तरी, वीरगञ्ज, तातोपानी, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गड्डाचौकी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित खाद्य क्वारेन्टाइन चेकपोस्टलाई पनि पत्राचार गरी आयातमा कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

 

सरकारले आफ्नो तहबाट कोरोनाको प्रवेशलाई रोक्न सक्दो प्रयास गरिरहेको उनले बताए । आवश्यक परेसम्म हरेक व्यवस्थाका लागि सरकार तत्पर रहेको केसीले बताए ।

 

हालसम्म १ सय २० देशहरुमा कोरोनाको प्रभाव परेको अन्तराष्ट्रिय समाचारहरुले देखाएका छन् ।

एनआसी एशिया र लिगल रेमिटबीच सम्झौता Read Previous

एनआसी एशिया र लिगल रेमिटबीच सम्झौता

बीमासम्बन्धी सबै काम एकद्वार प्रणालीबाट गर्ने तयारी Read Next

बीमासम्बन्धी सबै काम एकद्वार प्रणालीबाट गर्ने तयारी