विश्व बजारमा तेलको मूल्यमा व्यापक गिरावट, आयल निगम भन्छ नेपालमा घट्दैन

काठमाडौं । तेलको मूल्य विश्व बजारमा निकै तल झरेको छ । सन् १९९१ मा अमेरिकी सेनाले इराकी सेनामा धावा बोलेपछिको यो सबैभन्दा ठूलो गिरावट हो । विश्वव्यापी रुपमा तेल प्रति ब्यारेल ३५.४५ डलरमा कारोबार भइरहेको छ । यो भनेको २२ प्रतिशतको गिरावट हो ।

 

तेलको सबैभन्दा ठूलो निर्यातकर्ता साउदी अरेबियाले यो सप्ताहन्त तेलको मूल्यमा ‘प्राइस वार’ छेड्यो । त्यसपछि साउदी र रसियाले नेतृत्व गरेको तेल निर्यातकर्ता देशहरुको संगठन ‘ओपेक’ विघटन भयो । यो संस्था सन् २०१६ मा तेलको मूल्य प्रति ब्यारेल ३० डलरमा झरेपछि निर्माण गरिएको संस्था हो ।

 

तेल बजारलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा रहेको विवाद शुक्रबार भियनामा भएको बैठकमा छताछुल्ल भएको थियो ।

 

मूल्य स्थिर राख्नका लागि उत्पादन घटाउँदा घटाउँदा रसिया थाकिसकेको अवस्था छ । यसले बरु अमेरिकी ‘सेल’ कम्पनीहरुलाई फाइदा पुर्याएको छ । उनीहरु सस्ता अरबी र रसियाली तेलको भण्डारण घटाएर महङ्गो अमेरिकी तेलको लागि ठाउँ बनाइरहेका छन् ।

 

अमेरिका अहिले विश्वकै ठूलो तेल उत्पादक भएको छ । यो वर्षको पहिलो त्रैमाससम्म अमेरिकाले १ करोड ३० लाख ब्यारल तेल निकाल्ने अनुमान छ ।

 

यो सप्ताहअन्तमा साउदीले बजार हिस्सा बढाउन तेलको मूल्य प्रति ब्यारल ४ देखि ७ डलरसम्म घटाएपछि उसको र रुसको विवाद शुरु भएको हो । साउदीले तेल उत्पादन पनि बढाएर १ करोड ब्यारल पुर्याउने बताएको छ ।

 

कोरोना भाइरसको के प्रभाव छ यसमा ?

 

कोरोना भाइरसले विश्वव्यापी रुपमा तेलको मागलाई घटाइदिएको छ । विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता रहेको चीन दैनिक १ करोड ब्यारल तेल खपत गर्दथ्यो । अहिले त्यो घटेको छ । विश्वका धेरै तेल खपत गर्ने कारखानाहरु पनि त्यसै बसेका छन् । हवाइ उडानहरु घटेका छन् ।

 

यसरी माग घटेका बेला ‘प्राइस वार’ मा उत्रेर तेलको मूल्य र बजारमा स्थायीत्व नआउने जानकारहरु बताउँछन् । मूल्य घटाएर बजार हिस्सा जति बढाए पनि उनीहरुलाई फाइदा नहुने उनीहरुको दाबी छ ।

 

नेपालमा कस्तो पर्ला प्रभाव ?

 

नेपालमा तेल भारतबाट आयात हुन्छ । भारतसँगको सम्झौता अनुसार प्रत्येक १५ दिनमा भारतले मूल्य पठाउने गरेको छ । त्यसै अनुसार नेपालमा पनि तेलको मूल्य निर्धारण गरिन्छ ।

 

आयल निगमका सुरेन्द्र पौडेल अन्तर्राष्ट्रिय बजारमा घटेको तेलको मूल्यले नेपालमा विक्री हुने तेलमा सामान्य फरक पारे पनि त्यसले ठूलो अन्तर भन नपर्नेे बताए । उनले भारतले आफ्नो मूल्य नदिएसम्म कति घट्छ भनेर भन्न नसकिने बताए ।

 

१५÷१५ दिनमा मूल्य तोकिने भएकोले बाँकी रहेको तेललाई पुरानै मूल्यमा बेच्न नसकिने र नयाँ आएको तेललाई पनि पूरै विदेशमा जसरी घटाएर बेच्न नसकिने उनले बताए । ‘हामीले पुरानो मूल्य र नयाँ आउने मूल्यको औसतमा रहेको मूल्य तोक्ने हो । थोरै फरक पर्ला । तर, मूल्यमा ठूलो अन्तर आउँदैन,’ पौडेलले चाणक्य पोष्टसँग भने ।

 

उनले निरन्तर मूल्य घटिरहेमा मात्र नेपालमा विक्री हुने तेलको मूल्यमा ठूलो प्रभाव पर्न सक्ने बताए । एक÷दुई दिन मूल्य घट्दैमा वा बढ्दैमा खासै असर नपर्ने उनले बताए ।

सेयर बजार राताम्मे, सूचक १४०० भन्दा तल झर्यो Read Previous

सेयर बजार राताम्मे, सूचक १४०० भन्दा तल झर्यो

सडक विस्तार सम्बन्धी तत्काल नयाँ योजना नबन्ने Read Next

सडक विस्तार सम्बन्धी तत्काल नयाँ योजना नबन्ने