काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको २२ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । कम्पनीको फागुन २४ गते सम्पन्न सभाले प्रस्तावित लाभांश पारित गरेको छ ।
कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ३२ लाख २२ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
यस्तै आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल र सुरेश देवकोटा, सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ भने बोनस सेयर वितरण पछि १ अर्ब ८ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।