कोरोना प्रभावः मास्क र औषधी लुकाउनेलाई गरियो २ लाख रुपैयाँ जरिवाना

काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिले मेडिकलहरुमा अनुगमन सुरु गरेको छ । मास्क तथा स्यानिटाइजरलाई अत्याधिक मुल्यमा विक्रि वितरण गरेको पाइएकोमा व्यापारीहरुलाई कारबाहि गर्दै आइरहेको छ । पछिल्लो समय त्रासको रुपमा फैलिएको कोरोना भाइरसको कारण अत्यावश्यक बनेको मास्क र स्यानिटाइजर अहिले बजारमा अभाव हुन थालेका छन् । विभागले बजार उजुरीको आधारमा नियमित अनुगमन गरिरहेको छ ।

 

विभागका अनुसार बजारमा यसको माग बढे सँगै व्यापारीहरुले लुकाउनुका साथै महङ्गो मुल्यमा बेच्न थालेको उजुरी पछि अनुगमन गर्न थालिएको हो । विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्ट प्रालिलाई २ लाख जरिवाना गरेको छ । त्यसैगरि बढी मूल्यमा औषधी बेचेको कसुरमा वीर अस्पतालमा रहेको आयुष फार्मेसीलाई पनि विभागले २ लाख जरिवाना गरेको छ ।

 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अत्यावश्यक बनेको मास्क तथा स्यानिटाइजरको बढी मूल्य लिएर विक्री वितरण गरेको पाइए पछि जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।

 

त्यस्तै विभागले खरिद बिल नराखिएको कसुरमा क्षेत्रपाटीको एमजे मेडिकलको सर्जिकललाई २० हजार र महाबौद्धको आर.एफ फार्मेसीलाई १० हजार जरिवाना गरेको छ ।

 

विभागले बजारमा सर्जिकल मास्कको कृत्रिम अभाव देखिएपछि अनुगमन सुरु गरेको हो । विभागले यो हप्तामा मात्रै १ दर्जनभन्दा बढी मेडिकलहरुमा अनुगमन गरिसकेको छ । कतिपय मेडिकलहरुमा भने सामान्य मुल्यमा नै बिक्रि भएको पाइएको छ । त्यस्तै विनायक सर्जिकल, दीप सर्जिकल सप्लायर्स र अविमा सर्जिकल सामान्य अवस्थामा पाइएको छ ।

 

‘अब उपत्यका बाहिर वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्ज लगायतका सीमा क्षेत्रमा आपूर्तिको अनुगमन गर्ने छौँ । आपूर्ती नै नभएको हो कि व्यवसायीले नाफा लिन खोजेका हुन त्यसको कडा अनुगमन गरिने छ,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले चाणक्यपोष्टसँग भने ।

 

हालसम्म ७० भन्दा बढि मेडिकल तथा फार्मेसिहरुमा अनुगमन गरिएको उनले बताए । मन्त्रालयको तहबाट समेत एक्सन टिम बनाएर काम भइरहेको उनले जानकारी दिए ।

डलरको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो Read Previous

डलरको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो

नेपालकै सबैभन्दा ठूलो सौर्य प्लान्टबाट वैशाखदेखि विद्युत् उत्पादन हुने Read Next

नेपालकै सबैभन्दा ठूलो सौर्य प्लान्टबाट वैशाखदेखि विद्युत् उत्पादन हुने