कोरोनाका कारण बिश्व हवाई क्षेत्रमा ठूलो क्षति, नेपालमा कस्तो छ अवस्था

काठमाडौं। पछिल्लो समय विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रभाव हवाई क्षेत्रमापनि उच्च रुपमा देखिन थालेको छ । कोरोनाका कारण समग्र हवाई क्षेत्रमा करिब ३ खर्ब ३८ अर्ब रुपैंया नोक्सान हुने प्रारम्भिक अनुमान अन्तराष्ट्रिय एयर ट्रान्सर्पोट एशोसिएशन (आएटा) ले गरेको छ । सन् २०२० को पहिलो दुई महिनामा नै हवाई क्षेत्रमा देखिएको यस प्रकारको प्रतिकुल प्रभावका कारण यस क्षेत्रले ठूलो क्षति व्यर्होनु पर्ने आएटाको ठम्याई छ ।

 

नेपालमा मात्रै कोरोना भाइरसका कारण दुई महिनाको अवधिमा आन्तरिक हवाई उडानमा ४० प्रतिशतले विदेशी पर्यटकहरु घटेको वायुसेवा संचालक संघ, नेपालले जानकारी गराएको हो । यसबाहेक संघका अनुसार, पहिले नै बुकिङ गरेका टिकटहरु पनि धमाधम रद्द हुन थालेको छ ।

 

कोरोनाका कारण नेपाल भित्र स्वदेशी तथा विदेशी पर्यटकहरु आवत जावत गर्न सक्ने अवस्था छैन, जसका कारण हवाई क्षेत्रमा ठूलो नारात्मक प्रभाव परेको छ, संघका प्रवक्ता योगराज कंडेल शर्मा बताउँछन् । यसले आगामी ६ महिनासम्म प्रत्यक्ष प्रभाव पार्ने उनको दाबी छ ।

 

सरकारले आगामी दिनमा संकटमा पर्न लागेको यस क्षेत्रलाई जोगाउन वायुसेवा प्रदायकले बैंकहरुलाई तिर्नुपर्ने ब्याजलाई नेपाल राष्ट्र बैंकबाट रिफाइनान्सको गरी भुक्तानीको व्यवस्था मिलाउनु पर्ने संघले माग गरेको छ । त्यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर वा नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुर्नतालिकिकरण र पुनसंरचनाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग रहको छ ।

 

प्रवक्ता कंडेलका अनुसार सरकारले हाल हवाई इन्धनमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर र हवाई इन्धनको मूल्य ३० प्रतिशत मात्रै कम गर्न सके यस क्षेत्रले केही राहत पाउने छ । त्यस्तै, विसान तथा एयर नेभिगेशन शुल्क सन् २०२० भरि शतप्रतिशत छुट गर्नुपर्ने कंडेलको भनाई छ ।

 

यता, आएटाका अनुसार कोरोना भाइरसको संक्रमणसँगै एयरलाइन्स कम्पनीको सेयर मूल्यसमेत विश्वव्यापी रुपमा करीव २५ प्रतिशतले गिरावट आइसकेको छ । यो सन् २००३ यताकै सबैभन्दा कम रहेको आएटाको भनाइ छ ।

 

कोरोनाका कारण एसियाली मुलुकका एयरलाइन्सले ठूलो क्षति व्यहोर्ने आएटाको प्रक्षेपण रहेको छ । सन् २०२० मा सबैभन्दा ठूलो क्षति इटाली र चीनले व्यहोर्ने छन् । यस वर्ष चीनले कूल यात्रु संख्यामा २३ प्रतिशत गिरावटको सामना गर्नेछ । जापानले १२ प्रतिशत, सिंगापुरले १०, दक्षिण कोरियाले १४ र इटालीले २४ प्रतिशत यात्रुको गिरावट हुने अनुमान आएटाको रहेको छ ।

अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प Read Previous

अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प

औषधी अभावको कुरा हल्ला मात्र, बजारमा औषधी पर्याप्त छ : औषधी व्यवस्था विभाग Read Next

औषधी अभावको कुरा हल्ला मात्र, बजारमा औषधी पर्याप्त छ : औषधी व्यवस्था विभाग