औषधी अभावको कुरा हल्ला मात्र, बजारमा औषधी पर्याप्त छ : औषधी व्यवस्था विभाग

काठमाडौ । नेपाली बजारमा अहिले औषधी अभावको कृतिम हल्ला भए पनि औषधि व्यवस्था विभागले अभाव नहुने बताएको छ । भारतले कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै विभिन्न २६ औषधी र कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । भारतले औषधीहरुमा रोक लगाएसँगै बजारमा अभावको हल्ला भएको हो ।

 

भारत सरकारले निर्यातमा रोक लगाएको भनिएका औषधिमा पारासिटामोल, टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बी वान, भिटामिन बी १२, प्रोगेस्टेरोन, क्लोराम्फेनिकोल, इरिथ्रोमिसिन, नियोमाइसिन लगायत छन् ।

 

‘भारतले निर्यातमा रोक लगाएका औषधीहरु नेपालमै उत्पादन हुन्छ । त्यसको अभाव नेपाली बजारमा हुँदैन र हुनेवाला पनि छैन’, औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । उनले ३/४ महिना सम्मको लागि पुग्ने औषधी मौज्दात रहेको र यस्तो हल्ला बजारमा नफैलाउन समेत आग्रह गरे ।

 

उनका अनुसार होलसेलरसँग डेढदेखि दुई महिनासम्म पुग्ने औषधी मौज्दात गरेका हुन्छन् । त्यस्तै खुद्रा व्यापारीले गोदाममा कम्तीमा एक महिनाका लागि पुग्ने औषधीहरू मौज्दात राखेका हुन्छन् । आयातकर्ताले कम्तीमा दुई–तीन महिनासम्मका लागि औषधी मौज्दात गरेका हुन्छन् । यसले गर्दा पनि बजारमा औषधीको अभाव नहुने उनले बताए ।

 

अभाव हुने हल्लामा अप्राकृतिक रूपमा औषधीहरू भण्डार गर्ने र कृत्रिम अभाव हुने हुँदा होलसेलर, खुद्रा व्यापारी र उपभोक्तालाई यस्तो नर्गन आग्रह गरे । ‘यसो गर्नाले माग र आपुर्तिको सन्तुलन बिग्रिन्छ’, उनले भने ।

 

विभागले औषधी आयातकर्ता संघ र नेपाल औषधी उत्पादक संघसँग छलफल गरिसकेको छ । विभागका अनुसार औषधीको अभाव छैन । र, चालु आर्थिक वर्षमा कुनै औषधिको मुल्य वृद्धि समेत हुनेछैन ।

कोरोनाका कारण बिश्व हवाई क्षेत्रमा ठूलो क्षति, नेपालमा कस्तो छ अवस्था Read Previous

कोरोनाका कारण बिश्व हवाई क्षेत्रमा ठूलो क्षति, नेपालमा कस्तो छ अवस्था

कोरोना भाइरसको प्रभाव अध्ययन गर्दै अर्थ मन्त्रालय Read Next

कोरोना भाइरसको प्रभाव अध्ययन गर्दै अर्थ मन्त्रालय