काठमाडौं । डा.युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । मंगलबार राष्ट्रिय सभा सदस्यको पदावधि सकिएसँगै उनले राजीनामा दिएका थिए । तर, पदमुक्त भएकै भोलिपल्टै बुधबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
मिर्गौला प्रत्यारोपण गर्न त्रिवि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्रीले खतिवडालाई त्यहीँबाट अर्थमन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिश गरेका हुन् । खतिवडाले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने बताइएको छ ।
संविधान अनुसार सांसद पद नभएको व्यक्ति पनि प्रधानमन्त्रीको सिफारिसमा ६ महिनाका लागि मन्त्री हुन सक्ने प्रावधान रहेको छ । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा ७८ को उपधारा १ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई राष्ट्रिपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । यस्तै सोही धाराको उपधारा २ मा त्यसरी नियुक्त भएको व्यक्ति शपथ ग्रहण गरेको मितिले ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था छ ।

दोस्रो पटक अर्थमन्त्री बनेका खतिवडाको कार्यकाल अब ६ महिना रहने छ । यद्यपि उनलाई राष्ट्रपतिबाट मनोनित हुने कोटामा पुनः राष्ट्रियसभा सदस्यमा मनोनित गरेमा भने अझै ३ वर्षसम्म अर्थमन्त्रीकै रुपमा रहने छन् ।
अहिले सत्तारुढ नेकपाभित्र राष्ट्रियसभा सदस्यमा वामदेव गौतम वा उखतिवडा कसलाई लैजाने भन्नेमा तीव विवाद छ । गतसाता नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले त्यो निर्णया नमान्ने बताउँदै आएका छन् ।