अर्थमन्त्री खतिवडा आजदेखि स्वतः पदमुक्त हुने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा आजदेखि स्वतः पदमुक्त हुने भएका छन् ।

 

उनीसहित १९ जना राष्ट्रियसभा सदस्यको पदावधि मंगलबार राति १२ बजेदेखि सकिँदैछ ।प्रतिनिधि सभाको सदस्य नरहेको व्यक्तिको मन्त्री पदबाट स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था अनुसार उनी आजदेखि पदमुक्त हुने भएका हुन् ।

 

संविधानको धारा ७७ को उपधारा १ को ‘ग’ मा प्रतिनिधि सभाको सदस्य नरहेमा मन्त्री पद रिक्त हुने व्यवस्था छ । संविधानमा राष्ट्रिय सभा सदस्यका हकमा छुट्टै व्यवस्था नभएकाले खतिवडाको हकमा यही व्यवस्था आकर्षित हुने भएको हो । यसैबीच स्वतः पदमुक्त हुनु अगावै डा.खतिवडाले आजै मन्त्री पदबाट राजीनामा दिने बताइएको छ ।

खतिवडा आज पदमुक्त भए पनि पुनः भोलि नै अर्थमन्त्री बन्ने सम्भावना रहेको छ । संविधान अनुसार सांसद पद नभएको व्यक्ति पनि प्रधानमन्त्रीको सिफारिसमा ६ महिनाका लागि मन्त्री हुन सक्ने प्रावधान रहेको छ । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।

 

संविधानको धारा ७८ को उपधार १ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई राष्ट्रिपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । यस्तै सोही धाराको उपधारा २  मा त्यसरी नियुक्त भएको व्यक्ति शपथ ग्रहण गरेको मितिले ६ महिनाका लागि मन्त्री हुन पाउने व्यवस्था छ ।

‘दूरसञ्चार कम्पनीले सेवा विस्तार गरे पनि मूल्य घटाउनेतर्फ सोचेनन्’ Read Previous

‘दूरसञ्चार कम्पनीले सेवा विस्तार गरे पनि मूल्य घटाउनेतर्फ सोचेनन्’

सेयर बजारले गर्‍यो 'कमब्याक' Read Next

सेयर बजारले गर्‍यो 'कमब्याक'