काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उपभोक्तालाई सरल र सहजरुपमा सेवा दिन नसक्ने दूरसञ्चार सेवा प्रदायक हालकै अवस्थामा रहन नसक्ने बताएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको २२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले सार्वभौम उपभोक्तालाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्नेतर्फ ध्यान दिन सेवा प्रदायकलाई आग्रह गरे।
नेपालको नवनिर्माणका सन्दर्भमा राज्यको पुनःसंरचना भएको, शासकीय प्रणालीमा नयाँपन तथा वित्तीय सङ्घीयताको कार्यान्वयन, सामाजिक र आर्थिक रुपान्तरणको योजना तय भएको र डिजिटल प्रणालीमा गएर सुशासनको अवधारणासमेत कार्यान्वयनमा गएकाले सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
सरकारले पछिल्लो चरणमा शुरु गरेको डिजिटल नेपाल संरचनाभित्र समावेश गरिएको उल्लेख गर्दै मन्त्री डा. खतिवडाले ‘डिजिटल इकानोमी’सँगै आर्थिक, सामाजिक, पूर्वाधार विकास र उपभोक्ता हितका विषयमा समेत विद्युतीय प्रणालीबाट सेवा दिन लागिपर्नुपर्ने बताए।
कृषिको आधृनिकीकरण, शिक्षा, स्वास्थ्यको गुणस्तर प्रभावकारी बनाउने, स्मार्ट सिटी, वित्तीय सेवा, शासकीय व्यवस्था एवं प्रशासन तथा सेवा प्रवाहमा गरिने दूरसञ्चार सेवासमेत डिटिजल नेपाल फ्रेमवर्कममा समेटिएको मन्त्री डा खतिवडाले जानकारी दिए । दूरसञ्चार पूर्वाधार जस्तै स्याटेलाइट, मोबाइल टावर, ब्रोडव्याड, अप्टिकल फाइबरलाई बहुआयामिक, बहुउपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्नेमा उनले स्पष्ट पारे।
उपभोक्तालाई केन्द्रमा राखेर दूरसञ्चार सेवा प्रदायकले काम गर्नुपर्नेमा जोड दिँदै अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री डा. खतिवडाले भने, “ग्राहकले सेवा राम्रो पाइन भन्ने गुनासो मात्रै आयो भने पनि त्यस्ता सेवा प्रदायकको भविश्य के हुने भन्ने अवस्था आउँछ ।” ग्राहक सेवालाई सुधार गर्ने अवसरका रुपमा लिएर सेवा प्रदायकले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
टेलिफोन सेवामा गुनासो गर्ने दिन क्रमशः अन्त्य हुँदै गएको भन्दै उनले ग्राहकको गुनासोलाई हल गर्दै जानेतर्फ सेवा प्रदायकले विशेष ध्यान दिनुपर्ने बताए। “उपभोक्ता सार्वभौम हुन्, सन्तुष्टि प्रदान गर्न सकनेन् भने अब काम गर्दैन, आफूले दिने सेवा सुविधालाई गुणस्तर बढाउनुपर्छ”, उनले भने, “विगतमा टेलिफोनसमेत तोकले बाँडिन्थ्यो । अब अवस्था त्यस्तो छैन । सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ ।”
आफू दूरसञ्चार संस्थानको सञ्चालक समिति सदस्यका रुपमा रहँदा २०५७ सालमा नै तोकबाट टेलिफोन सेवा लिने प्रणालीको अन्त्य गरेको उल्लेख गर्दै मन्त्री खतिवडाले फ्रिक्वेन्सी समेत तोकमा बाँडिने प्रचलनको अन्त्य गरिएको प्रसन्नता व्यक्त गरे ।
उनले भने, “तोकका आधारमा दूरसञ्चार फ्रिक्वेन्सी वितरण गर्ने कुराको समेत अन्त्य हुनुपर्छ । प्राधिकरणले नियम तथा कानूनी आधारमा रहेर काम गर्नुपर्छ । कसलाई दिँदा के कति राज्यलाई आम्दानी हुन्छ तथा सेवाग्राहीलाई के कति फाइदा हुन्छ भनेर मात्रै दिनुपर्छ । मुख हेरेर दबाबमा परेर कुनै पनि काम गर्नु हुँदैन ।”
दूरसञ्चारमा समेत अनुमतिपत्र ओगट्ने प्रवृत्ति
मन्त्री खतिवडाले दूरसञ्चार सेवामा समेत अनुमतिपत्र ओगट्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । “सेवा प्रदान गर्छु भनेर अनुमति लिने, सेवा प्रदान नगर्ने, ओगटेर बस्ने, छिटो गरभन्दा अदालत जाने प्रवृत्तिको अन्त्य हुनुपर्छ”, उनले भने, “अनुमतिपत्र होल्ड भएको छ भन्ने अन्यत्र त सुनेको थिए, पछिल्ला केही दिनदेखि सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेपछि यहाँ पनि त्यही प्रवृत्ति रहेछ भन्ने थाहा पाएँ । यो त राष्ट्रिय रोग पो भएको रहेछ । यो अवस्थाको अन्त्य हुनुपर्छ, अब यस्तो रहनु हुँदैन ।
मन्त्री खतिवडाले अझै जोड दिएर भने, “छिटोछरितो सेवा दिने भनेर दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र लिने तर त्यसैले काम नगर्ने प्रवृत्ति ठिक हुँदैन यसरी मुलुकको विकास कसरी हुन्छ, हामी डिजिटल नेपालमा कहिले पुग्छौँ रु नेपालको अर्थतन्त्रलाई डिटिजल अर्थतन्त्र कसरी बनाउन सक्छौँ ? छिटोछरितो विकासको प्रक्रिया कसरी अगाडि बढाउन सक्छौँ ? यस्तो विषयमा प्राधिकरणले कुनै मोलाहिजा नगरी निर्मम ढङ्गले कानूनको अधिकार तथा विवेक प्रयोग गरेर काम गरोस् ।”
सरकारले ग्रामीण क्षेत्रमा दूरसञ्चारको सेवाका रुपमा ब्रोडव्याण्ड, अप्टिकल फाइबर पुर्याएको, टावरको स्तरोन्नति गरेको जानकारी दिँदै उनले सेवा प्रदायकले ती पूर्वाधारको प्रयोग गरेर ग्राहकलाई सन्तुष्ट हुने किसिमले सेवा दिन लाग्नुपर्नेमा जोड थियो ।
पछिल्ला दिनमा विश्वभर नै दूरसञ्चार सेवा प्रतिस्पर्धी रहेको तथ्य पेश गर्दै उनले सेवा प्रदायक कम्पनीको नाफा ठाडो उकालो चढ्ने खालको नभएको बरु तेर्सो खालको रहेको उल्लेख गरे । भ्वाइस कलबाट आउने पैसाभन्दा ठूला डेटा सञ्चालन गरेर कारोवार गर्नेतर्फ सेवा प्रदायक लागेको उनको भनाइ थियो ।
आगामी दिनमा प्रतिस्पर्धाको मुख्य क्षेत्र भनेकै तथ्याङ्क भएकाले त्यसमा सेवा प्रदायकले राम्रो काम गरेनन् भने ग्राहकमा असन्तुष्टि पैदा हुनेतर्फ ध्यान दिन आग्रह गरे ।
नयाँनयाँ प्रविधिले पनि डेटामा छिटो काम गर्नसक्ने तुल्याउनुपर्नेमा जोड दिँदै उनले ठूला लगानीसम्बन्धी निर्णय तत्कालै तथ्याङ्क विश्लेषणका आधारमा गर्नुपर्ने भएकाले सेकेण्डको भरमा त्यस्ता डेटामा पहुँच पुग्ने अवस्थाको सिर्जना हुनेतर्फ ध्यान दिनुपर्ने मन्त्री खतिवडाको जोड थियो ।
उनले सेवा प्रदायकको क्षमता विस्तारमा प्राधिकरणले जोड दिनुपर्नेमा सचेत गराए। आफूहरुले नियमन गर्नुपर्ने संस्थालाई सद्भाव तथा न्यायिक ढङ्गले राष्ट्रहितमा प्रयोग गर्नुपर्ने मन्त्री खतिवडाको भनाइ थियो ।
नियामक निकायका रुपमा रहेको प्राधिकरणको काम कारवाहीको समेत समीक्षा गर्नुपर्ने, समयबद्ध सेवा दिन के कति प्रयास गरियो भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । सबै जिल्लामा फोर जी सेवा पुगेको भए पनि त्यसलाई थप व्यावसायिक एवं सबै क्षेत्रमा पुर्याउनेतर्फ ध्यान दिनुपर्ने चुनौतीसमेत रहेको सचिव सुवेदीको भनाइ थियो ।
दूरसञ्चार सेवा प्रदायकले सेवा विस्तार गरे पनि सेवाको मूल्य घटाउनेतर्फ नलागेको पाइएकाले त्यसतर्फ पनि प्राधिकरणले ध्यान दिनुपर्ने उनको जोड थियो । कार्यक्रममा प्राधिकरणको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनसमेत सार्वजनिक गरिएको थियो ।
यस्तै सोही अवसरमा प्राधिकरणमा नियमतिरुपमा २० वर्ष सेवा गरेका कर्मचारी तथा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न अतिरिक्त प्रतियोगितामा सफल भएका कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो ।