तीन जनाको मिर्गौला फेल भएपछि भारतबाट आयात हुने दुई औषधिमा रोक

काठमाडौ । औषधि व्यवस्था विभागले दुई औषधिको गुणस्तरमा शंका भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि विक्री वितरणमा रोक लगाएको छ । विभागले मंगलबार सूचना जारी गर्दै विक्री वितरणमा रोक लगाएको हो ।

 

भारतीय उत्पादक कम्पनीले नेपालमा विक्री वितरण गरिरहेको दुई वटा औषधिको गुणस्तरमा शंका उत्पन्न भएकाले यथार्थ परीक्षण नहुन्जेल त्यसको विक्री वितरणमा रोक लगाइएको विभागले जानकारी दिएको छ ।

 

विभागले ब्याच नम्बर ११८७३६० रहेको मेट्रिस (मेट्रोनिडाजोल) इन्जेक्सन यूएसपी र ब्याच नम्बर १एच८२९३६ रहेको कम्पाउन्ड सोडियम ल्याकटेट इन्जेक्सन आईपीको बिक्री वितरणमा रोक लगाएको हो । विभागले अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि रोक लगाएको हो ।

 

विक्री वितरणमा रोक लगाइएका दुवै औषधि भारतीय कम्पनीका हुन् । मेट्रिस (मेट्रोनिडाजोल) नामक औषधी ओटसुका फर्मास्युटिकल्स इन्डिया प्रालि र अर्को कम्पाउन्ड सोडियम ल्याकटेट एक्युलाइफ हेल्थकेयर प्रालिले उत्पादन गरेका हुन् ।

फागुनको पहिलो साता नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको थाहा पाएपछि विभागले हालका लागि उक्त औषधिको विक्री वितरणमा रोक लगाएको हो ।

 

ती दुई औषधिको प्रयोगका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । उक्त औषधिप्रयोग गरेका तिनै जना महिलामा एउटै संक्रमण देखिएपछि विभागले उक्त २ औषधिको विक्री वितरणमा रोक लगाएको हो ।

 

उक्त व्याचका औषधिहरुको गुणस्तर बारे अहिले अनुसन्धान, जाँचबुझ तथा परीक्षण भइरहेको विभागले जानकारी दिएको छ ।

नबिल बैंकले २ अर्बको ऋणपत्र विक्री गर्दै Read Previous

नबिल बैंकले २ अर्बको ऋणपत्र विक्री गर्दै

ग्लोबल आइएमईको टपअप मुद्दती निक्षेप योजना संचालनमा Read Next

ग्लोबल आइएमईको टपअप मुद्दती निक्षेप योजना संचालनमा