काठमाडौं । नबिल बैंकले चैत २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि विक्री गरिने बैंकले जनाएको छ ।
चैत्र २ गतेदेखि विक्रीमा आउने सो ऋणपत्रमा छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ।उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
७ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । ऋणपत्रको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ।बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एल डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ।