काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जालाई खुकुलो बनाएको छ । सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले आवासीय घरको लागि बैंकबाट दिइने ऋणलाई विगतमो भन्दा खुकुलो बनाएको हो ।
व्यक्तिको पहिलो घरको लागि कर्जामा ऋण भुक्तानी अनुपात हालसम्म ५० प्रतिशत रहेकोमा अब ६० प्रतिशत बनाइएको छ । यसअनुसार अब महिनामा एक लाख कमाइ गर्नेले ६० हजार किस्ता रहने गरी घर कर्जा लिन पाउँनेछन् । यसअघि ५० प्रतिशतमा खुम्च्याउँदा मध्यमवर्गीय परिवार प्रभावित भएका थिए ।
यसैगरी हाउजिङ कम्पनीहरुको परियोजनालाई पनि ऋण दिने व्यवस्था खुकुलो पारिएको छ । महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा ऋण मूल्य अनुपात ५० प्रतिशत र बाहिर ६० प्रतिशत तोकिएको राष्ट्र बैंकले जनाएको छ । कर्जा लिने र दिने क्रम सुस्ताएपछि मौद्रिक नितीले यस्ता व्यवस्थाहरु ल्याएको देखिएको छ ।
तर, गाडी किन्ने र बेच्नेहरुको चासोलाई भने मौद्रिक नितीको अर्धबार्षिक समिक्षाले सम्बोधन गरेन । बैंकबाट कर्जा लिएर गाडी किन्नेलाई केन्द्रीय बैंकले केही सहुलियत दिने हल्ला लामो समयदेखि चलेपनि मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा कुनै परिमार्जन गरिएन ।
यसअघि अर्थमन्त्रीले पनि अटो क्षेत्रमा जाने कर्जामा केही परिणाम देखिनेगरि सहजता आउने नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका प्रतिनिधिसँग बताएका थिए । तर, आज सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा कुनै परिमार्जन गरिएन ।
गाडी बिक्रीमा आएको गिरावटलाई केही सहज गर्न डाउन पेमेन्टमा केही सहुलियत हुने अपेक्षा धेरैले गरेका थिए । अहिले गाडी किन्दा अनिवार्य रुपमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ ।