चौतारी र आरम्भलाई मर्ज हुन राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि स्वीकृति दिएको छ ।

 

बैंकका अनुसार ‘घ’ वर्गको इजाजत प्राप्त संस्थाका रूपमा रहेका ती दुई लघुवित्त संस्थालाई गाभिनका लागि यसअघि दिइएको सैद्धान्तिक सहमति गर्दा तोकिएका सर्तहरु पूरा गरेकाले अन्तिम स्वीकृति दिइएको हो । बैंकले त्यस्तो स्वीकृति आइतबार दिएको हो ।

 

दुई संस्था गाभिएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका रूपमा वित्तीय कारोवार गर्ने भएका छन् । बुटवललाई केन्द्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको चौतारी र बनेपालाई केन्द्र बनाएर वित्तीय कारोवार गर्दै आएको आरम्भले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को सर्त’ पूरा गरेको केन्द्रीय बैंकले जनाएको छ ।

 

गाभिन लागेका दुवै संस्थाले आ–आफ्नो वार्षिक साधारणसभाबाट निर्णय गरेबमोजिम चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्तको कायम हुने शेयर ‘स्वाप’ अनुपात एक बराबर एक हुने गरी शेयर पूँजी मिलान गर्नुपर्नेछ ।

 

यस्तै गाभिएर कायम हुने शेयरको सूचीकरण गर्नुपर्ने र शेयर कारोवारमा सहज हुने गरी रोक्का राखिएको धितोपत्र कारोवार फुकुवाको प्रबन्ध गर्नुपर्नेछ ।

 

यस्तै गाभिएर कायम हुने संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा राख्नुपर्ने, एकीकृत कारोवारसम्बन्धी सूचना दुईपटक सबै शेयरधनीले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने सर्त केन्द्रीय बैंकले तोकेको छ ।

 

बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार दुवै लघुवित्तलाई गाभिनका लागि अन्तिम स्वीकृति दिइएको छ । नेपाल स्टक एक्सचेञ्जमा आरम्भको कूल छ लाख ४४ हजार २८० कित्ता शेयर सूचीकृत छ । यस्तै चौतारी लघुवित्तको कूल १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।

ट्राफिक प्रहरीद्वारा डेढ करोड बराबरको हराएको सामान फिर्ता Read Previous

ट्राफिक प्रहरीद्वारा डेढ करोड बराबरको हराएको सामान फिर्ता

कृषि ऋणमा ५० प्रतिशत ब्याज अनुदान दिने सरकारको तयारी Read Next

कृषि ऋणमा ५० प्रतिशत ब्याज अनुदान दिने सरकारको तयारी