एजेन्सी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभाव विश्व सेयर बजारमा पनि देखा परेको छ । पछिल्लो १ हप्तामा मात्रै विश्व सेयरबाट लगानीकर्ताले ५० खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका छन् । विश्व सेयर बजारमा यो सन् २००८ यताकै ठूलो वित्तीय संकट हो ।
युरोपका बजार ३ देखि ५ प्रतिशतले घटेका छन्। संसारमै सुरक्षित मानिएको अमेरिकी सरकारको ऋणपत्रको मूल्य घटेर पछिल्लो समयको न्यून विन्दुमा आएको छ। चीनबाट सुरू कोरोना भाइरस महिनाभरमै नियन्त्रणमा आउनेछ र आर्थिक गतिविधि पुनः सञ्चालन हुन्छ भन्ने अनुमान गलत साबित भएपछि लगानीकर्ताको मनोबल खस्किएको छ।
झन्डै ५० ठूला देशका सेयर बजार कारोबार मापन गर्ने एमएससीआई परिसूचक शुक्रबार एक प्रतिशतले घटेको छ। वाल स्ट्रिटका ठूला कम्पनीको सेयर मूल्य बिहीबार मात्रै ४.४ प्रतिशत घटेको छ।
युरोपका वायुसेवा तथा ट्राभल कम्पनीको सेयर मूल्य एक सातामा १८ प्रतिशत घटेको छ। जापानबाहेक प्रमुख एसियाली सेयर बजारमा २.६ प्रतिशत गिरावट आएको छ भने जापानी सेयर बजार परिसूचक निक्की ३.७ प्रतिशत ओरालो लागेको छ। जापानमा हुने भनिएको ओलम्पिक खेल पनि स्थगित हुने चर्चा चुलिएको छ।
चीनको सांघाई र सेन्जेन स्टक एक्सचेन्जका परिसूचक क्रमशः ३.५ प्रतिशत र ५ प्रतिशत घटेका छन्। कच्चा तेलको मूल्य साताभरमा १२ प्रतिशत घटेको छ भने धातुको मूल्य पनि कम भएको छ।
विश्व स्वास्थ्य संगठनले जर्मनी, फ्रान्स लगायत प्रमुख विकसित अर्थतन्त्रमा पनि कोरोनाको प्रभाव देखिएकाले यसले ठूलै महामारीको रूप लिनसक्ने बताएका छन्।