काठमाडौं । सरकारले डिजेल, पेट्रोल र हवाइ इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करको दर बढाएको छ ।
बिहीबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारकार प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको जानकारी दिए ।
उनका अनुसार अब डिजेल, पेट्रोल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि सरकारले पूर्वाधार करबापत प्रतिलिटर ५ रुपैयाँ लिँदै आएको थियो ।
सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै आर्थिक वर्ष २०७३/७४ देखि पेट्रोल र डिजेलमा पूर्वाधार विकास कर लिँदै आएको छ । र, अहिलेसम्म ४१ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भइसकेको छ ।