काठमाडौं । नेपाली कफी तथा पश्मिना उत्पादनको भ्यालु चेन अर्थात् मूल्य श्रृंखलामा सुधारका लागि नेपाल सरकार तथा यूरोपियन यूनियन (ईयू) ले संयुक्त रुपमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।
बिहीबार काठमाडौंमा आयोजीत ईयू-नेपाल ट्रेड तथा इन्भेष्टमेन्ट प्रोग्राम (टिपीआई) अन्तर्गतको व्यापार सम्बन्धित सहायता परियोजना लञ्च गर्दै जेनेभाको इन्टरनेशनल ट्रेड सेन्टर (आईटिसी), ईयू र नेपाल सरकारले संयुक्त लगानी गरेको जानकारी गराएका हुन् ।
नेपाली कफी तथा पश्मिनाको उत्पादन, प्रशोधन तथा त्यसलाई अन्तर्राष्ट्रिय जगतमा बजारीकरण गर्ने लक्ष्यसहित ईयू, नेपाल सरकार तथा आईटिसीले संयुक्त रुपमा परियोजना संचालन गर्ने भएका छन् । मूल्य श्रृंखलामा आधारित रहेर पश्मिना तथा कफीलाई विश्वस्तरमा पहिचान गराउने लक्ष्यसहित निर्यात नीतिको विकासका लागि ४ वर्षसम्म सो परियोजना संचालनमा ल्याउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए ।
परियोजनाका लागि आईटिसीले करिब ६३ करोड रुपैयाँ लगानी गरेको छ भने ईयू र नेपाल सरकारको ३७ करोड रुपैयाँ लगानी रहेको अर्यालले जानकारी गराएका हुन् । संचालनमा आउने यस परियोजनाले कोही पनि व्यक्तिले उत्पादन गरेको वस्तुले अन्तर्राष्ट्रिय बजारमा स्थान पाउन सहयोग गर्ने उनको दाबी छ ।
परियोजना संचालनले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन ठूलो भूमिका निर्वाह गर्ने आईटिसीकी निमित्त कार्यकारी निर्देशक ढोरोथी टेम्बोले बताएकी छन् । मूल्य श्रृंखलाका वस्तु उत्पादन वृद्धि गदै मुलुकको व्यापार वृद्धिमा टेवा पुर्याउनुका साथै, विकास साझेदार देशबीच व्यापार तथा लगानी विस्तारको उद्देश्यले चार वर्षका लागि सो कार्यक्रम संचालनमा गर्न लागेको टेम्बोले स्पष्ट पारिन् ।
त्यस्तै, पछिल्लो समय कम विकसीत मुलुकको सूचीबाट माथि उक्सन नेपालले थुप्रै प्रयत्न गरिरहेको छ । यस्तोमा मुलुक अझैबढी अग्रसर रुपमा अघि बढ्नु आवश्यक रहेको टेम्बोको ठम्याई छ । ‘विकासोन्मुख मुलुकतर्फ अघि बढ्न नेपालले आर्थिक विकास तथा कुल आयआर्जनमा उत्तिकै ध्यानदिनु जरुरी छ’, टेम्बो भन्छिन्, ‘यस्तोमा व्यापार व्यवसाय विस्तार गर्दै अघि बढ्न नेपालले ध्यान दिनुपर्ने हुन्छ ।’ संचालनमा आउने यो परियोजनाले नेपालको समग्र आर्थिक स्थिती उकासन सहयोग पु¥याउने उनको दाबी छ ।
नेपाललको दिगो एवम समावेशी आर्थिक विकासका लागि यूरोपियन यूनियनले सदैव सहयोग गर्ने नेपालका लागि यूरोपियन यूनियनकी राजदूत भेरोनिका कोडीले बताएकी छन् । नेपाली उत्पादनका लागि ईयू मुख्य बजार रहेको भन्दै बढीभन्दा बढी वस्तु उत्पादन गरी बजार विस्तार गर्न उनले आग्रह गरेकी छन् । कोडीका अनुसार, नेपालको आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी मूल्य श्रृंखला सुधारका निम्ति ईयूले यो परियोजना कार्यन्वयनमा ल्याएको हो ।