‘बुल ट्रयाप’ मा पर्नबाट कसरी जोगिने, यस्ता छन् उपाय
चाणक्य पोष्ट
प्रकाशित : 3:47 pm, बिहीबार, फाल्गुन १५, २०७६

काठमाडौं । विगत ३ वर्षदेखि वियरिस ट्रेन्डमा रहेको नेपाली सेयर बजार पछिल्लो ३ महिना यता बुलिस ट्रेन्डमा छ । बजारमा दिनदिनै ऐतिहासिक रेकर्ड कायम गर्ने गरी सेयरको कारोबार भइरहेको छ । नेप्से प्रायः दैनिकजसो उच्च अंकले वृद्धि भइरहेको छ । बजार सूचक ३ महीनाको अवधिमै करीब ५० प्रतिशले माथि लागेको छ ।

 

यस अवधिमा कतिपय कम्पनीको सेयर मूल्य ३ गुणाभन्दा बढीले बढेका छन् भने केहीको १० प्रतिशत पनि बढ्न सकेका छैनन् । बजार बुलिस ट्रेन्डमा गएसँगै नयाँ लगानीकर्ताहरू पनि बजारमा प्रवेश गर्ने क्रम बढ्दो छ । कतिपय नयाँ लगानी कर्तालाई बजारको सामान्य ज्ञान समेत नहुने हुँदा त्यस्ता लगानीकर्ता अरुकै भरमा परेर सेय किन्ने गर्छन् । जसले गर्दा पछि नराम्रोसँग फस्ने सम्भावना हुन्छ ।

 

अरुले पैसा कमाएको देखेर र बजार बढेको बढ्यै गर्छ भन्ने भ्रममा परेर बजारमा प्रवेश गर्नेको संख्या पनि धेरै छ । बुल रनमा अधिकांश कम्पनीको सेयर मूल्य उच्च हुन्छ । यस्तो बेला राम्रा/नराम्रा (वित्तीय सूचकहरूका आधारमा) कम्पनी छनोट गरी लगानी गर्नुपर्दछ । नत्र ठूलो जोखिम मोल्नुपर्ने समेत हुन्छ । कम्पनीको विगतका वर्षदेखिको नाफावृद्धिदर, सेयर धनीलाई दिएको लाभांश, मूल्य आम्दानी अनुपात, पव्रतसेयर आम्दानी लगायत सूचकमा विशेष ध्यान दिनुपर्छ ।

 

बुलिस ट्रेन्डमा प्रायः ठूला र पुराना लगानीकर्ताले फाइदा उठाउन सफल हुन्छन् भने नयाँ लगानीकर्ता बुलिसको चेपुवामा पर्ने सम्भावना धेरै हुन्छ । नयाँ लगानीकर्तामा बजार र कम्पनी सम्बन्धी ज्ञान कम हुने हुँदा अरुले गरेको हल्लाकै भरमा सेयर उठाउने गर्छन ।

 

बजार अझै बढ्ने आशामा कमजोर वित्तीय अवस्था भएको कम्पनीको सेयर पनि महँगो मूल्यमा किन्ने गर्छन् । जसले गर्दा उनीहरू नराम्ररी फस्ने सम्भावना अधिक हुन्छ । बुलिस ट्रेन्डमा ‘ट्र्याप’ मा पर्नबाट जोगिन निम्म कुरामा ध्यान दिनु पर्दछ :

 

लहैलहैका भरमा लगानी नगर्ने

 

लहैलहैमा लागेर सेयर बजारमा लगानी गर्दा यसबाट कमाइन्छ भन्नेहरू धेरै फसेको उदाहरण हेर्न पाइन्छ । बुलिस ट्रेन्डमा बजारको गति अस्वभाविक हुन्छ ।

 

यस्तो अवस्थामा बजार र आफूले लगानी गर्ने कम्पनीको सूक्ष्म अध्ययन नगरी, बजारका प्राविधिक पक्षहरूको जानकारी नराखी कोही कसैले भनेको भरमै लगानी गर्दा लगानी डुब्ने खतरा पनि हुन्छ । त्यसैले पैसा लगानी गर्नुभन्दा पहिले आफूले यस सम्बन्धमा केही कुरा जानकारी राख्न सकियो भने बजारबाट कमाउने राम्रो अवसर पनि प्राप्त हुन्छ ।

 

सूचीकृत कम्पनीहरूको विधिक पक्षहरूको जानकारी नराखी लगानी गर्नु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु सरह हो । अरुको लहडको भरमा भन्दा आफैंले सूक्ष्म अध्ययन गरेर लगानी गर्नु पर्दछ । यद्यपि, आफूलाई जानकारी नभएका विषयमा पुराना लगानीकर्ता तथा जानकारहरूसँग सल्लाह, सुझाव लिन सकिन्छ ।

 

लगानीको विविधिकरण गर्ने

 

बुलिस ट्रेन्डमा मात्रै हैन जहिले पनि सेयरमा लगानी गर्दा एउटै मात्र कम्पनीको सेयर किन्ने गर्नुहुँदैन । मूल्य बढरदा त ठीकै हो, घटेको बेलामा यसले चुर्लुम्मै डुबाउँछ । तसर्थ, सेयरमा लगानी गर्दा विविधिकरण गर्नुपर्दछ ।         आफ्नो लगानी विभिन्न क्षेत्र जस्तै, बैंक, बीमा, वित्त, लघुवित्त, उत्पादनमूल लगायत क्षेत्रमा विविधिकरण गर्नुपर्दछ । यसले एउटा क्षेत्र घटे पनि अर्को क्षेत्र बढ्ने हुनाले आफ्नो पार्टोफोलिया सन्तुलनमा राख्न मद्दत गर्दछ । अर्थात् कुनै एक कम्पनी डुबे पनि अरू कम्पनीबाट हुने नाफाले तपाईंको घाटा पूर्ति गर्न सक्छ ।

 

एउटा वर्गको सेयर सबै बेचेर अर्को वर्गको कम्पनीको सेयरमा लगानी थुपार्नु जस्तो मुर्खता केही हुन्न । किनभने सेयरको मूल्य बढ्न थाल्दा धेरैथोरै सबै कम्पनीको बढ्छ र पालो सबैको आउँछ । एउटै वर्गको कम्पनीको मूल्य मात्रै सधैं बढिरहँदैन । जसले जसरी लगानी गरे पनि सेयर बजार जोखिमको क्षेत्र भएकाले उसले जोखिमको भार बोक्नैपर्छ । तर, कम जोखिम वहन गर्ने कि बढी भन्ने मात्र हो ।

 

एकै पटक ठूलो परिमाणमा सेयर नकिन्ने

 

धेरै नाफा कमाउने ध्याउन्नमा एकै पटकमा ठूलो परिणाममा सेयर किन्न हुँदैन । बुल रनको सुरुवाति अवस्थामा ठूलो परिणाममा सेयर किन्नुलाई राम्रै मानिए बुलको लामो समयपछि एकै पटक ठूलो परिणममा सेयर किन्नु घातक हुन सक्छ । बजार सधैं एउटै चक्रममा नरहने हुँदा महँगो मूल्यमा धेरै सेयरकिन्दा बजार घटेको बेला ठूलै नोक्सानी व्यहोर्नु पर्छ ।

 

त्यसैले, एकैपटक धेरै कित्ता सेयर किन्नुभन्दा क्रमशः अलिअलि गर्दै लगानी गर्नु राम्रो हुन्छ । यस्तो गर्दा बजार घटिहाले पनि ठूलो नोक्सानी हुँदैन र बढे पनि क्रमश नाफा कमाउँदै जान सकिन्छ । लगानीयोग्य रकम साथमा सधैं राखौं किनभने सेयर बजार अवसरको खानी हो, यहाँ सुरक्षित लगानी गर्नेले जहिले पनि नाफा कमाउन सक्छ ।

 

कम्पनीको सूक्ष्म अध्ययन गर्ने

 

बुल रहनमा प्रायः सबै कम्पनीको मूल्य बढ्ने हुँदा आफूले लगानी गर्ने कम्पनीको अवस्था कस्तो छ भन्ने जानकारी हुन आवश्यक छ । बजारमा चलखेल गर्ने खेलाडी धेरै हुन्छन् । उनीहरूले अमूक कम्पनीको सेयरमा चलखेल गरी मूल्य अस्वभाविक बढाएका हुन्छन् ।

यस्तो अवस्थामा कम्पनीको त्रैमासिक/ वार्षिक वित्तीय विवरणहरू अध्ययन तथा विश्लेषण गर्नु आवश्यक हुन्छ । कम्पनीको वार्षिक नाफा वृद्धिदर, विगतदेखि दिँदै आएको लाभांश, भविष्यमा दिन सक्ने सम्भावित मुनाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात लगायत सूचकहरूको बारेमा जानकारी राख्नु पर्दछ । ताकी कमजोर अवस्था भएका खराब कम्पनीमा आफ्नो लगानी नडुबोस् ।

 

मूल्य जोखिमको स्तर मापन गर्ने हो भने बढी मूल्य आम्दानी अनुपात भएका कम्पनीबाट कम भएका कम्पनीतर्फ लगानी सार्ने नै उत्तम उपाय हो तर सबैले एकै प्रकारले लगानी सम्बन्धी धारणा बनाउँन भन्ने कुरा सेयर बजारमा सम्भव छैन ।

 

सेयर बेच्न नहतारिने

 

बुल रनमा भर्खरै सेयरको मूल्य बढ्न शुरु हुने भएकाले तत्कालै सबै सेयर बेचेर हतारिनु हुँदैन । सेयरको मूल्य अझै बढ्ने संभावना हुन्छ । सेयर किन्न खोसाखोस हुने अवस्थामा अझै चर्को रुपमा देखा पर्न पनि सक्छ । त्यसो हुँदा आज महँगो भयो भनिएका सेयरको मूल्य अरु बढ्न सक्छ र अहिले नै बेचेर पाखा लाग्दा बजारबाट हुने फाइदाबाट बञ्चित हुन सकिन्छ ।

 

मूल्य घट्नासाथ सेयर बेच्न नहतारिनुहोस । यदि कम्पनीले बदमासी गरेको छैन भने तपाईंको सेयरको मूल्य केही समयमै फेरि उकालो लाग्न थाल्छ । मूल्य यथावत रहे पनि तपाईंलाई कम्पनीले दिने लाभांशबाट फाइदा पुग्छ ।

 

यद्यपि, तपाईंले सेयर किन्नुभएको कम्पनीको सेयर बेच्दा तपाईंलाई नाफा हुने अवस्था छ भने त्यसलाई बेचेर आफ्नो लगानी उठाउन सकिन्छ ।