काठमाडौं । अब बीमा कम्पनीहरूले फिजिकल डेटा सेन्टर स्थापना गर्नुपर्ने भएको छ । बीमा समितिले ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ जारी गर्दै बीमा कम्पनी आफैले वा नेपालमा दर्ता भई सञ्चालनमा रहेका क्लाउड डेटा सेन्टर सेवा प्रदायकहरुबाट मात्रै लिनु पर्ने व्यवस्था गरेको हो ।
समितिले बीमा ऐन २०४९ को दफ ८ (घ२) को अधिकार प्रयोग गरी बीमकले अवलम्बन गर्ने सूचना प्रविधि नीति तथा उपयोगबाट बीमितको हित रक्षा गर्न सो मार्गदर्शन लागू गरिएको जनाएको छ ।
यस्तै बीमकले निमार्ण गरी संचालनमा ल्याएको वेभसाइट समय सापेक्ष अद्यावधिक गर्दै लानुपर्ने मार्गदर्शनमा उल्लेख छ ।बीमा कम्पनीहरुको वार्षिक रूपमा इजाजत प्राप्त सूचना प्रविधि सम्बन्धी परीक्षकबाट सूचना प्रणालीको परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । सूचना प्रणाली परीक्षणको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र पेश गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ ।
सूचना प्रविधि प्रणालीको परीक्षण गर्दा प्रयोगकर्ताको आधिकारिकता, आन्तरिक तथा बाह्य पक्षबाट सूचना प्रविधि प्रणालीमा पुग्न सक्ने जोखिम, सूचनाको सुरक्षा, सूचना प्रविधि प्रणालीमा भएका संवेदनशील पक्षहरु, डेटाबेस तथा कारोबारको सुरक्षा, नेटवर्क तथा हार्डवेयरको सुरक्षा लगायत विषय समेटिनु पर्ने व्यवस्ता गरिएको छ ।
प्रणालीको सुरक्षा तथा जोखिम व्यवस्थापनका लागि प्राकृतिक तथा मानवीय क्षतिसंग सम्बन्धित पक्ष समावेश भएको प्रकोप व्यवस्थापन योजना समेत तयार गरी कार्यान्वयन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।