काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा कारोबारको दिनदिनै नयाँ कीर्तिमान बन्दै गएको छ । आइतबार ३ अर्ब ६० करोडको कारोबार भई इतिहासमै सर्वाधिक कारोबारको रेकर्ड कायम गरेको थियो । ३ दिनमै त्यो रेकर्ड ब्रेक हुँदै आज ४ अर्ब १५ करोडको कारोबार भई नयाँ रेकर्ड कायम भएको छ ।
यस सातको चार कारोबार दिनमा मात्रै १४ अर्बभन्दा बढीको कारोबार भएको छ भने सूचक १६० अंकले बढेकोे छ । बुधबार सेयर बजार मापक सूचक नेप्से ५०.९३ अंकले बढेर १५९६.१३ विन्दुमा पुगेको छ । आज कुल १८० कम्पनीको ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँको कारोबार भएको छ । ९९ लाख ९ हजार ९८९ कित्ता सेयर खरिद विक्री भएका छन् ।
आज कारोबार भएका १२ ओटै समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीम समूहको परिसूचक ५७१.१८ अंकले बढेको छ । बैंकिङ समूह ५०.४७ अंकले बढेको छ ।
कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर शीर्ष स्थानमा रहेको छ । यसको २१ करोड ९९ लाख ४७ हजार २५७ रुपैयाँको कारोबार भएको छ । अन्य ७ कम्पनीको पनि १० करोडभन्दा माथिको कारोबार भएको छ ।
आज ८ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । एभरेष्ट बैंकको प्रमोटर सेयर, राष्ट्रि बीम कम्पनी, युनिलिभरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य ५ कम्पनीको सेयर मूलय पनि करीब १० प्रतिशतले बढेको छ । आज राधी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशतले बढेको छ ।