बुढी गण्डकी जलविद्युत् आयोजना आफै बनाउछाैं : मन्त्री पुन

"२२ वटा विद्युतीय आयोजनाबाट आगामी तीन वर्षभित्रमा ३ हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने "

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन् ।

 

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै ‘आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ‘ उनले भनेका हुन ।

 

मन्त्री पुनले अहिले मुलुकमा अघि बढाइएका २२ वटा विद्युतीय आयोजनाबाट आगामी तीन वर्षभित्रमा तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिँदै देशमा छरिएर रहेका पैसालाई एकीकृत गरेर विद्युतीय आयोजना निर्माण गर्न सकिन्छ भन्ने विषयको त्रिशूली ‘ए’ तेस्रोले पुष्टि गरेको बताए ।

 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढी गण्डकी जलविद्युत् आयोजना निर्माणका लागि हालसम्म कसैलाई दिइएको छैन भन्दै उहाँले उक्त आयोजना राज्य आफैँले बनाउने सोच राखेको र यसका लागि कुन ढाँचामा कसरी पैसा जुटाएर बनाउने भन्ने बारेमा सम्भावनाको अध्ययन र छलफल भइरहेको बताउनुभयो ।

 

मन्त्री पुनले भने, “उक्त आयोजनाको पछिल्लो डिपीआर अनुसार दुई खर्ब ७३ अर्बको प्रारम्भिक लागत अनुमान गरिएको छ । ७५० मेगावाट क्षमताको पश्चिम सेती राष्ट्रिय गौरवको आयोजनालाई पनि मुलुकको हितअनुरुप अघि बढाउन सरकार सजग र सचेत छ ।”

 

मन्त्री पुनले सुनकोशी–कमला–मरिन डाइभर्सनबाट मध्य तराई क्षेत्रको एक लाख २२ हजार हेक्टर क्षेत्रफमा सिँचाइ पुग्ने अनुमान गरेर आयोजना अघि बढाउने निर्णय भएको जानकारी दिए ।

 

पछिल्लो अध्ययनले मुलुकमा २३ हजारको सङ्ख्यामा नदी, नाला, खोला र खोल्सा रहेको उल्लेख गर्दै उहाँले चुरे संरक्षण, नदी नियन्त्रण र तटबन्धका कार्यक्रमलाई पनि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । यसअघि नेपालमा छ हजारको सङ्ख्यामा नदीनाला रहेको भनिँदै आएको थियो ।

-रासस

उपत्यकामै पुल बिग्रिएपछि आवतजावत ठप्प Read Previous

उपत्यकामै पुल बिग्रिएपछि आवतजावत ठप्प

राष्ट्रिय युवा परिषद्को समन्वयमा १ हजार युवालाई १० लाखका दरले कर्जा सुविधा Read Next

राष्ट्रिय युवा परिषद्को समन्वयमा १ हजार युवालाई १० लाखका दरले कर्जा सुविधा