काठमाडौं । काठमाडौं १५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि आवतजावत ठप्प भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करिब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करिब आठ फिट अग्लो पुलका आधार खोलाले बगाएपछि पुल ढलेको हो । जसका कारण सर्वसाधारणलाई समस्या भएको हो ।
उक्त वडाले पुल निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरेको वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार दैनिक हिँड्डुल गर्नुपर्ने सर्वसाधारणको आवतजावत प्रभावित भएका कारण एक साताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।