काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्षको पहिलो ७ महिनाको विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात ३.५६ प्रतिशतले घटेको छ भने निर्यात २२.४१ प्रतिशतले बढेको छ ।
समग्रमा चालू आर्थिक वर्षमा कुल आयात ८ खर्ब ३ अर्ब, निर्यात ६५ अर्ब र कुल व्यापार घाटा ७ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा समग्र व्यापार घाटा ५.३३ प्रतिशतले घटेको छ ।
यो अवधिमा नेपालले सबैभन्दा धेरै आयात भारतबाट गरेको छ भने त्यसपछि चीन, इन्डोनेसिया र यूएईबाट आयात गरेको छ । यस अवधिमा नेपालको भारतसँग व्यापार घाटा ४ खर्ब ९६ अर्ब रुपैयाँ रहेको छ भने चीनसँगको व्यापार घाटा १ खर्ब ३२ अर्ब रहेको छ । इन्डोनेसियासँगको व्यापार घाटा भने २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
यो अवधिमा नेपालले भारतमा सबैभन्दा बढी ४५ अर्ब ३९ करोड रुपैयाँ निर्यात गरेको छ । दोस्रोमा संयुक्त राज्य अमेरिकामा नेपालले ६ अर्ब ४९ करोड रुपैयाँको निर्यात गरेको छ । चीनमा भने १ अर्ब ६ लाख रुपैयाँको मात्र निर्यात गरेको छ ।
उत्पादनको हिसाबले हेर्दा नेपालले सबैभन्दा धेरै निर्यात गरेको उत्पादन पाम आयल रहेको छ । नेपाले यो ७ महिनामा १३ अर्ब ८९ करोड रुपैयाँको पाम आयल निर्यात गरेको हो । त्यसपछि दोस्रोमा नेपालले ५ अर्ब ९४ करोड रुपैयाँको भटमसा निर्यात गरेको छ । त्यपछि भने ४ अर्ब २७ करोडको कार्पेट निर्यात भएको छ ।
यसैगरी नेपालले सबैभन्दा धेरै आयात गरेको वस्तुमा डिजेल रहेको छ । नेपालले यो अवधिमा ५८ अर्ब २२ करोड रुपैयाँको डिजेल आयात गरेको हो ।