नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

काठमाडौं । कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ ।

 

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले सोमबार सिंहदरबारमा गरेको शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको बताएका हुन् ।

 

यसअघि कतारसँगको समझदारीलाई समयानुकूल बनाउन नेपालले लामो समयदेखि कूटनीतिक पहल गरिरहेको थियो । सम्झौता परिमार्जनका लागि विभिन्न चरणमा द्विपक्षीय वार्ता संवाद भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।

 

भेटमा राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘हामीले नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ’, सभामुखसँगको भेटमा उनले भने ।

 

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको पनि राजदूतले स्मरण गरेका थिए ।

 

सो अवसरमा सभामुख सापकोटाले जलवायु परिवर्तनलगायत विश्व्यापी समस्या समाधन गर्न नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए ।

 

भेटमा उनले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको कामना गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सीएमसीले सहायक ठेकेदारलाई दिनुपर्ने भुक्तानीको टुंगो लागेन Read Previous

सीएमसीले सहायक ठेकेदारलाई दिनुपर्ने भुक्तानीको टुंगो लागेन

क्लासिक टेकको ९ सयमा इन्टरनेट र टिभी सेवा Read Next

क्लासिक टेकको ९ सयमा इन्टरनेट र टिभी सेवा