काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सीएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुंगो लाग्न सकेको छैन ।
स्थानीय कामदारको ज्यालाको टुंगो लागे पनि सहायक ठेकेदारको विषयमा टुंगो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सीएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको छ ।
मजदूरलाई ज्यालावापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। ‘भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ/छैन भनी जाँच गर्ने (भेरिफाइ) काम भइरहेको छ’, उनले भने, ‘त्यो सकिनासाथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।’
सीएमसी कम्पनीले निर्माणकार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्ता (सप्लायर)लाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गर्दै आएका थिए ।
कम्पनीले निर्माणकार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माणकार्यमा लागिरहँदा सरकारले यसअघिको समस्या भने समाधान गरिसकेको छैन ।
सहसचिव नेतृत्वको प्राविधिक समितिले यही साताभित्रमा समस्या हल गरी मेलम्ची असारभित्रमा ल्याउने भनी श्वेतपत्र जारी गर्न लागेको मन्त्रालयले जनाएको थियो ।