माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ ।
आयोजनामा कार्यरत कर्मचारीका कारण असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लिएको लक्ष्य पूरा नहुने देखिएको हो । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य जति लम्ब्याउँदै गयो, त्यति नै आफूलाई आर्थिकरुपमा फाइदा पुग्ने कर्मचारीमा देखिएको मनोवृति कारण तोकिएको समयमा आयोजनाको निर्माण कार्य पूरा नहुने समस्या देखिएको स्थानीयवासीको आरोप छ ।
तीन वर्षअघिदेखि नै प्रत्येक वर्षको असार मसान्तमा आयोजनाको निर्माण कार्य पूरा हुन्छ भन्दै आएका कर्मचारीले आफ्नो जागिर लम्ब्याउने खेतीमा लागेको नागरिक समाजका अगुवा भवीन्द्र कार्कीले बताए । ‘यस पटक पनि २०७७ साल असार मसान्तमा विद्युत् उत्पादन हुन्छ भन्ने ढाँटको खेती गरिरहेको छ,’ उनले भने, ‘जनताले बुझाएको राजश्वको उपहास गर्दै तामाकोशी जलविद्युत् आयोजनालाई केही कर्मचारीले ठगी खाने भाँडो बनाएका छन् ।’
जनताले खाई नखाई जगेर्ना गरेको शेयर रकमको समेत बेवास्ता गरिएको बताउँदै आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको तल्लो ठाडो सुरुङ र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काममा ढिलाइ भइरहेको उनको भनाइ छ ।
दोलखाली जनताले नबुझेर आफूहरुलाई आरोप लगाएको र यो आरोप सत्य नभएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले दाबी गरे । ‘पटक पटक जनतालाई ढाँटे पनि कुनै बाधा–व्यवधान नआए २०७७ साल असार मसान्तभित्र विद्युत् उत्पादन हुन्छ,’ उनले भने, ‘वैशाख महिनाभित्र तल्लो र माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने काम गरिसक्छौँ ।’
नौ महिनाको अवधिमा जम्मा ३०० मिटरमात्र पेनस्टक पाइप जडान सम्पन्न हुनुले असार मसान्त सम्ममा परीक्षण उत्पादन शुरु हुने कुरा प्राविधिक र व्यावहारिक रुपमा पनि असम्भव देखिएको छ ।
आयोजनाको लागत ७० अर्ब माथि पुग्ने अनुमान प्रवक्ता न्यौपानेको छ । उनका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करीब ५० अर्ब खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्च लगायतका कारण आयोजना पूरा हुँदा आयोजनाको लागत ७५ अर्बभन्दा केही बढी हुन सक्ने प्रवक्ता न्यौपानेले बताए ।
समग्रमा आयोजनाको प्रगति ९९ दशमलब चार प्रतिशत पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जनाएको छ । आजसम्ममा ३७३ मिटरको तल्लो ठाडो सुरुङमा २२० मिटर र ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा १३० मिटर पेनस्टक पाइप जडान भइसकेको प्रवक्ता न्यौपानेको भनाइ छ ।
लट २ को हाइड्रो मेकानिकलको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनीयरिङले काममा ढिलाइ गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, टेक्सम्याको र एन्ड्रिजबीचमा त्रिपक्षीय सम्झौता भई तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम एन्ड्रिजलाई दिइएको थियो भने माथिल्लो ठाडो सुरुङमा टेक्सम्याकोले नै पेनस्टक पाइप जडानको काम गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
सुरुङ तथा पेनस्टक पाइपको परीक्षण सफल गरी असार मसान्त सम्ममा विद्युत्गृहमा जडान गरिएका ६ युनिटमध्ये एक युनिटबाट परीक्षण उत्पादन शुरु गर्ने र बाँकी पाँचै वटा युनिटमा गर्दा असोज महिना लाग्ने उनको भनाइ छ ।
आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । आयोजना आगामी असोजभित्र सम्पन्न गर्ने तयारी छ ।रासस