दुइदिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति आज राती दिल्लीको बिलासी ५ तारे होटल आईटीसी मौर्यमा बस्दैछन् । विश्वका शक्तिशाली देश अमेरिकाका राष्ट्रपतिको स्वागतका लागि आईटीसी मौर्य पूर्ण रुपमा तयारी अवस्थामा रहेको छ ।
सन् २०१६ मा निर्वाचित राष्ट्रपति ट्रम्प आफ्नो कार्यकालको अन्तिमतिर भारत भ्रमणमा आएका हुन् । भ्रमण आज ३ बजेदेखि भोलि राती १०ः३० सम्म भारतमा रहने छन् । भारतको राजधानी दिल्लीको सरदार पटेल मार्गमा अवस्थित आईटीसी मौर्य होटलको ‘अल्ट्रा लग्जरी सुइट’मा ट्रम्पले आजको रात बिताउने छन् ।

आईसीटी मौर्यले ट्रम्पको स्वागतको लागि फूलबाट बनाइएको विशाल रंगोली बनाएको छ भने सजाईएको हात्तीद्धारा उनको स्वागत गरिनेछ । हात्तीलाई ट्रम्प निर्वाचित रिपब्लिकन पार्टीको ‘मस्कट’को रुपमा प्रस्तुत गरिएको छ ।
आईटीसी मौर्यमा बस्ने ट्रम्प नै पहिलो राष्ट्रपति भने होइनन् । उनीभन्दा पहिले नै अमेरिकी राष्ट्रपतिहरु जर्ज डब्ल्यू बुस, बिल क्लिन्टन, बाराक ओबामा तथा जिम्मी कार्टरले उक्त होटलको आतिथ्यता ग्रहण गरिसकेका छन् ।
सो ५ तारे होटलले राष्ट्रपति क्लिन्टनको भ्रमणका क्रममा विशेष क्लिन्टन ‘प्लाटर’ (बिभिन्न खानेकुरा सम्मिलित बिशेष मेनु) बनाएको थियो । त्यस्तै बाराक ओबामाको आतिथ्यतामा ओबामा ‘प्लाटर’ पनि बनाएको थियो, जुन सधैंका लागि होटलको विशेष मेनुको रुपमा रहेको छ । र, यो सधैं ग्राहकको छनौटमा पनि रहेको छ ।
होटलले ट्रम्पको यो भ्रमणको क्रममा भारतीय स्वाद भएको विशेष ट्रम्प प्लाटर तथा स्पेसल डिजर्ट सर्भ गर्ने जनाइएको छ । आईटीसी मौर्यले अन्य राष्ट्रप्रमुख तथा सेलीब्रेटीहरुको समेत आतिथ्यता गरिसकेको छ । होटलमा भ्लादिमीर पुटीन, ब्रुनाईका सुल्तान, साउदी राजा अब्दुल्ला, दलाई लामा, रोजर फ्रेडरर, टाइगर उड्स, आर्नोल्ड स्वाएजनेगर, मिक जागर जस्ता प्रसिद्ध व्यक्तिहरु बसिसकेका छन् ।

अझ होटलमा रहेको बुखारा रेस्टुरेन्ट, जुन तन्दुरीका लागि प्रख्यात रहेको छ, मा टोनी व्लेयर, बिल क्लिन्टन, क्रिकेटर सचिन तेन्दुल्कर तथा एमएस धोनी, कलाकार एमएफ हुसेन जस्ता प्रसिद्ध व्यक्तिहरुले खाना खाएको फोटो सजाइएको छ ।
कस्तो छ त चाणक्य सुइट ?
५ तारे बिलासी होटलको १४ औं तल्लामा रहेको यो प्रेसिडेन्ट सुइटको नाम चाणक्य सुइट हो । यसमा सिल्क प्यानको भित्ताहरु, डार्क कलरको काठको फ्लोरिङ सहितको उत्कृष्ट सजावट रहेको छ । उक्त सुइटमा आफ्नो रिसेप्सन, लिभिङ रुम, स्टडी रुम तथा १२ सिट भएको डाइनीङ रुम समेत रहेको छ । यो सुइटमा मोतीले सजाइएको विशाल वाथरुम, मिनी स्पा तथा जिम समेत रहेको छ । यो सुइटमा जानको लागि डेडिकेटेड एलिभेटर, बिजनेश कोर्टयार्ड तथा समिट लाउन्जको समेत व्यवस्था रहेको छ ।
मेनुमा के छ त ?
आइटीसी मौर्यका सेफहरुले अमेरिकी राष्ट्रपतिका लागि विशेष खानाका परिकारको मेनु प्लान तयार गरेका छन् । सेफले ‘सिग्नेचर डिस’ दाल बुखारा सहितको विशेष प्रकारको ट्रम्प प्लाटरको समेत व्यवस्था गरेको छ । टम्पले बुखाराको रेष्टुरेन्टको तन्दुरी समेत चाख्ने सम्भावना रहेको छ । चाणक्य सुइटमा ट्रम्पलाई मनपर्ने डायट कोक तथा चेरी भेनिला आइसक्रीम उपलब्ध छ । ट्रम्पका लागि प्रेसिडेन्सीयल फ्लोरमा व्यक्तिगत सेफ तथा बट्लरहरु तैनाथ हुनेछन्, जसले हरदम राष्ट्रपति जोडीको इच्छा अनुसारको अन्य भोजनको प्रबन्ध गर्ने छन् ।

कति पर्छ त चाणक्य सुइटमा एक रात बिताएको ?
४ हजार ६ सय स्क्वायर फिट क्षेत्रफलमा फैलिएको चाणक्य सुइटमा एक रात बिताउन १२ लाख ८० हजार नेपाली रुपैयाँ पर्दछ । जसमा स्टिम, सौना तथा अन्य लिभिङ क्वाटरको समेत व्यवस्था छ ।