हनुमन्ते खोलाको ५४ रोपनी जग्गा गायब, करिडोर निर्माण अलपत्र

काठमाडौं । हनुमन्ते खोला किनारामा रहेको ५४ रोपनी जग्गा व्यक्तिको नाममा भएको पाइएको छ । यस विषयमा यथार्थ के हो त्यसबारेमा छानबिन गरेर अघि बढनु पर्ने शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए ।

 

‘हनुमन्ते खोलाको ५४ रोपनी जग्गा व्यक्तिको नाममा भएको पाइएको छ, त्यो छानबिन हुनुपर्छ, सरकारी जग्गालाई कसैले आफ्नो भन्न पाउँदैनन्, त्यसका लागि सम्बन्धित निकाय र सही प्रकृयाबाट अनुसन्धान गर्नु पर्ने हुन्छ’, सचिव अधिकारीले भने ।

 

विकास समितिका सभापति कल्याणी खड्काले ५४ रोपनी जग्गा अनाधिकृत रुपमा हडपिएको विषय के हो ? यसको तथ्य पत्ता लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । जग्गाको विषय भूमि सुधारले हेर्न भए पनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै उनले असन्तुष्टी व्यक्त गरिन् ।

 

हनुमन्ते करिडोर अलपत्र

 

निर्माणको काम सुरुवात गरिए पनि हनुमन्ते करिडोरको काम अलपत्र परेको छ । योजनाले छुट्टाइएको बजेटमा हालसम्म २०.१२ प्रतिशत खर्च भएको छ भने २५.९१ प्रतिशत भौतिक प्रगति भएको छ ।

 

आज आयोजित विकास समितिको बैठकमा बोल्दै सचिव अधिकारीले आयोजना सम्पन्न गर्न ९ किलोमिटर सडकखण्डमा ६० मिटर चौडाको कोरिडोर चाहिने जानकारी दिए । ६० मिटरमध्ये २० मिटर खोलाको वहाबका छुट्याइनु पर्नेछ । यस्तै दुवैतर्फ १०/१० मिटर हरियाली क्षेत्र र बाँकी ८ मिटरमा सडक तथा २ मिटरको फुटपाथ दुवैतर्फ निर्माण गरिने छ ।

 

उनले करिडोरको जग्गाका लागि ‘ल्याण्ड डेभलपमेन्ट’ मार्फत काम अघि बढिरहेको बताए । ल्याण्ड डेभलपमेन्ट मार्फत जग्गा लिएर काम गरे पनि कतिपयको पूर्ण जग्गा जाने र कसैको दुई तिहाई जग्गा जाने हुँदा स्थानीय समस्यामा पर्ने अवस्था रहेको उनले जानकारी दिए । त्यसैले स्थानीय जनप्रतिनिधिलाई जग्गा विकासको काम अगाडि बढाउन अनुरोध गरिएको उनले बताए ।

 

करिडोरको काम सुरु गर्ना साथ बेलैमा जग्गा किनबेच रोक्का नगर्दा समेत जग्गाको मूल्य उच्च भएको र मुआब्जा तिरेर जमिन लिन सम्भव नभएको उनले विकास समितिमा बताए ।जमिनको व्यवस्था मिलाए करिडोर निर्माण यही असार भित्रै सम्पन्न गर्न सकिने उनले दाबी गरे ।

 

यस्तै, हनुमन्ते करिडोरका योजना प्रमुख लिलाप्रसाद ढकालले आवश्यकता परे कालोपत्र काम नगरी करिडोरको बाटो खुलाउन सकिने बताएका थिए ।

 

‘अस्थायी रूपमा बाटो सञ्चालन गर्न सक्ने अवस्था अझै पनि छ, तुरुन्तै पीच गर्न नसकिएला तर, अहिले खुलेका बाटोमा त्यसैमा मोटर हिँड्न सक्ने अवस्था छ,’ ढकालले भने ।

 

आगामी असार अगाडि बाटो पीच सक्ने भनिए पनि हाल आएको समस्याले त्यो काम सफल हुन कठिन देखिएको उनको भनाइ थियो । ‘जग्गाको समस्या छिटो समाधान भए हामी बाँकी काम छिटो अगाडि बढाउने छौँ,’ ढकालले भने ।

 

विकास समितिकी अध्यक्ष कल्याणी खड्काले एकै ठाउँको काम समेत विभिन्न निकायलाई बाँडिदा त्यसमा समन्वयन हुन नसकेको बताइन् ।

 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना उपप्रमुख योगेन्द्र चित्रकारका अनुसार हनुमन्ते करिडोर निर्माणका क्रममा राधे–राधे पुल नजिक साख स्टीलले ठाँउ खाली नगर्दा समस्या उत्पन्न भएको छ ।

 

यस्तै सुन्दर बस्तीमा (चार दोबाटो पुल) जग्गा विवाद र बालकुमारी कोलोनीमा जग्गा विवाद रहेकोले काम अघि बढाउन समस्या भइरहेको उनले बताए ।

एनआइसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टिभी किन्दा १०% छुट Read Previous

एनआइसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टिभी किन्दा १०% छुट

माथिल्लो तामाकोशीको लागत बढेको बढ्यै, ७५ अर्ब पुग्ने Read Next

माथिल्लो तामाकोशीको लागत बढेको बढ्यै, ७५ अर्ब पुग्ने