काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई जलविद्युत कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनी र लिर्वटी हाइड्रोपावर कम्पनीलाई कुल ४८ करोड बराबरको आइपीओ जारी गर्न अनुमित दिएको हो।
बोर्डले लिबर्टी ईनर्जीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई गरी ३७ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो। कम्पनीले स्थानीय बासीलाई १५ करोड बराबरको १५ लाख कित्ता र सर्वसाधारणलाई २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार गरी कुल ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ ।
इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको जनाउँछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।
यस्तै, बोर्डले युनाईटेड इदी–मर्दी एण्ड आरबी हाईड्रोपावरलाई १० करोड ५० लाख बराबरको १० लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति दिएको छ । कम्पनीले स्थानीयलाई ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० लाख कित्ता र सर्वसाधारणलाई ६ करोड ३० लाख बराबरको ६ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको आईपिओलाई केयर रेटिङ नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।