केही महीना अघि चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरसको प्रकोप अहिले तीव्र गतिमा विश्वव्यापी फैलिरहेको छ । चीनमा मात्र हालसम्ममा करिब साढे दुइ हजारको मृत्यु भइसकेको छ भने हजारौं संक्रमित भएका छन् । चीनबाट सुरु भएको भाइरस अहिले विश्वका ३० भन्दा बढी मुलुकमा फैलिसकेको छ भने ती देशमा पनि संक्रमित र मृत्यु हुनेको संख्या दिनदिन बढ्दै गएको छ ।
कोरोना भाइरसको प्रभाव अहिले विश्व अर्थतन्त्रमा नै देखा पर्न थालेको छ । चीन, अमेरिका, कोरिया, जापानजस्ता विश्वका ठूला अर्थतन्त्र भएका मुलुकमा यसको असर बढ्दै गएको छ । विश्का वहुराष्ट्रिय कम्पनीसमेत यसबाट प्रभावित हुँदै गएका छन् । मुख्यत अहिले चीनका कोरोना प्रभावित क्षेत्रका उद्योग, कलकारखानाको उत्पादन तथा बिक्रीमा मन्दी आएको छ । यस्तै यसले पर्यटन बजार, सेयर बजारमा पनि असर पारेको छ ।
विगत ३ वर्षदेखि लगातार घटेको बजार पछिल्लो ३ महीना यता करिब ४० प्रतिशतले बढीसकेको छ भने अझै बढेने क्रम पनि जारी छ ।
कारोनो भाइरसको प्रकोप बढ्दै जाँदा अहिले विश्वका ठूला सेयर बजारमा समेत गिरावट देखिन थालेको छ । चीन, अमेरिका, हङकङ, जापान, कोरिया, सिंगापुर लगायत देशका शेयर बजार पछिल्लो क्रममा घट्दो क्रममा छन् ।
विश्वका शेयर बजार ओरालो लागिरहेको बेला नेपालको सेयर बजार भने क्रमशः उकालो लागिरहेको छ । विगत ३ वर्षदेखि लगातार घटेको बजार पछिल्लो ३ महीना यता करिब ४० प्रतिशतले बढीसकेको छ भने अझै बढेने क्रम पनि जारी छ । पछिल्लो महीनाको अवस्था हेर्दा नेपाली सेयर बजारले ‘बुल ट्रेन्ड’ समातेको संकेत देखाउँछ ।
देशको अर्थतन्त्रमा खासै सुधार हुन नसकेको सरकारी तथ्यांक्हरूले नै देखाइरहेको अवस्थामानसेयर बजारले गति लिनु आफैंमा सुखद हो । ३ वर्षसम्म गति लिन नसकेको बजार पछिल्लो समय एकाएक गति लिनुमा धेरै कारण रहेका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता पर्याप्त हुनु, सेयर बजारप्रति सधैं नकरात्मक धारण राख्ने अर्थमन्त्री डा. अर्थमन्त्री खतिवडा पदबाट हट्ने संकेत देखिनु, लगानीकर्ताको मनोवल बढ्दै जानु, कोरोना भाइसलको प्रभावले नेपाल चीन व्यापार ठप्प जस्तै हुनु, औद्योगिक क्षेत्रमा लगानीमैत्री वातवरण सृजना नहुँदा ‘क्यापिटल डाइभर्ट’ हुनु लगायत कारण रहेको छन् ।
सिद्धान्ततः आपूर्तिभन्दा माग धेरै हुँदा बजार बढ्ने गर्छ । तर, नेपाली सेयर बजारको पछिल्लो अवस्था छैन । बजारमा अधिक आपूर्ति हुँदा पनि बजार निरन्तर बढी रहेको छ । हिमालय सीमापार व्यापार संघका अध्यक्ष बच्चु पौडेल पछिल्लो समय नेपाली सेयर बजार बढ्नुको कारण नेपाल–चीन व्यापार ठप्प हुनुलाई मान्छन् । उनका अनुसार नेपाली व्यापारीले चीनबाट सामान आयात गर्दा खर्चिने रकम लगानी हुन नसक्दा व्यापारीहरूले त्यो पैसा सेयर बजारमा लगानी गरेको देखिन्छ ।
‘विशेषत पछिल्लो समय कोरोना भाइरसका कारण व्यापारीहरूले चीनबाट सामान आयात गर्न सकेको छैनन । हाम्रा ४ सयदेखि ५ सय कन्टेनर सामान नेपाल भित्रिन सकेका छैैनन् । महीनामै अर्बौंको सामान आयात हुने भए पनि अहिले त्यो ठप्प जस्तै छ,’ उनले भने, ‘यसले गर्दा व्यापारीले आफ्नो पैसा व्यापारबाट डाइभर्ट गरी सेयर बजारमा लगानी गर्न थालेका छन् । जसले गर्दा बजारले ह्वात्तै गति लिएको हो ।’ यस्तै देशमा सम्भावित लगानीको क्षेत्रहरू नदेखिएकाले पनि व्यापारीले त्यो पैसा सेयर बजारमा लगानी गरेको उनको भनाइ छ ।
यता, ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रााणाभाट भने सेयर बजार बढ्नुलाई बजारको नियमित प्रक्रिया भएको बताउँछन् । लामो समयसम्म ‘बियरिस ट्रेन्ड’ मा रहेको नेपाली बजारले आफ्नो चक्र अनुसार नै गति लिएको उनको बुझाइ छ ।
‘पछिल्लो समय देशको समग्र अर्थतन्त्र सकरात्मक नै देखिएको छ, यसले लामो समयसम्म घाटा व्याहेरिरहेका लगानीकर्ताको मनोबल बलियो बनाउँदै लगेको छ,’ उनले भने, ‘अहिले पनि सेयर नकिने आफू पछि परिने लगानीकर्ताको बुझाइले पनि कारोबार क्रमशः बढ्दै गएको हो ।’
साथै पछिल्लो समय नेपाल धितोपत्र बोर्डले विभिन्न नियमावलीमा संशोधन गरी बजारमैत्री व्यवस्था लागगू गर्नु, सामूहिक लगानी कोष, नागरिक लगानी कोष लगायतका ठूला संस्थागत लगानीकर्ताले पनि सेयर बजारमा ठूलो रकम लगानी गर्नाले बजारले गति लिएको उनको भनाइ छ ।
२०७२ सालमा पनि भूकम्पपछि लगानीको वातावरण नहुँदा व्यवसायीले ठूलो रकम सेयर बजारमा लगानी गरेका थिए । त्यसपछि सेयर बजार इतिहासमै सबैभन्दा उच्च विन्दु १८८१ मा पुगेको थियो । त्यो नै नेपाली सेयर बजारको हालसम्मको उच्च विन्दु हो ।
अहिले पनि सरकारले लगाएको उच्च कर, झन्झटिलो प्रक्रिया, अव्यवहारिक नियम, कानून लगायत कारणले ठूला उद्योगी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न हिच्किचाइ रहेका छन् । जसका कारण लगानीकर्ताले लगानीको क्षेत्र ‘डाइभर्ट’ गरी ठूलो रकम सेयर बजारमा लगानी गरेको जानकारहरू बताउँछन् । ठूला लगानीकर्ताको प्रवेशले नै बजारमा उछाल ल्याएको उनीहरूको बुझाइ छ ।