काठमाडौं । करीब ३ वर्षदेखि लगातार ओरालो लागेको शेयर बजार पछिल्लो ३ महीनादेखि उकालो यात्रामा छ । सूचक प्रायःजसो दैनिक दोहोरो अंकले बढेको छ भने दैनिक औसतमा डेढ करोडभन्दा माथिको कारोबार भइरहेको छ ।
बिहीबार नेपाली शेयर बजार इतिहासमै सर्वाधिक २ अर्ब ७८ करोडको कारोबार भएको थियो भने आइतबार कारोबार भएको २ घण्टामै करीब २ अर्बको कारोबार भइसकेको छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा पर्याप्त तरलता हुनु र अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हट्ने अनुमानलाई शेयर बजारले गति लिनुको मुख्य कारण मानिएको छ ।
पछिल्लो समय माइक्रो फाइनान्स र बीमा कम्पनीहरूले बजार उचाली रहे पनि आइतबार भने बैकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
यसदिन कारोबारको दोस्रो घण्टासम्म कारोबार हुँदा एनमबी बैंकको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये एनएममी बैंक चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो तेस्रो बैंक हो । हाल यसको चुक्ता पूँजी १३ अर्ब ९५ करोड छ ।
गत वर्षको मुनाफाबाट शेयरधनीलाई सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश दिएको बैंकको शेयरमा आइताबार अत्यधिक चाप रहेको छ । दिउँसो १ बजेसम्ममा करीब १ लाख कित्ता शेयरको माग थियो भने विक्रीकर्ता नै छैनन् ।
संस्थापक र सर्वसाधरण गरी करीब १४ करोड कित्ता शेयर भएको बैंकको शेयरको माग अधिक भएपछि आइतबार १ कित्ता पनि शेयर विक्रीमा राखिएको छैन । यसले लगानीकर्ता बैंकको शेयर बेच्न नचाहेको देखिन्छ ।
तुलनात्मक रुपमा अन्य अग्रपंक्रिकै बैंकको सूचीमा उभिएको बैंकको शेयरमा लगानीकर्ताको यत्तिको आकर्षण देखिएको पहिलोपटक हो । ओम डेभलपमेन्ट बैंकलाई प्राप्तिगरी करबि साढे महीना पछि कात्तिक २१ गतेदेखि कारोबार भएको थियो ।
त्यसबेला प्रतिकित्ता ३५१ मा कारोबार खुलेको थियो भने २१ प्रतिशत बोनस वितरण पछि प्रतिकित्ता ३३२ मा खुलेको थियो । पछिल्लो २ महीनामा मात्रै एनएमबीको सेयर मूल्य प्रतिकित्ता ८१ रुपैयाँ बढेको छ ।
दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ ।