नेपाल सरकार पर्यटन प्रर्वधन गर्न आइफा अवार्ड आयोजना गर्न लागिपरेको छ । प्रधानमन्त्री आफैं जसरी भएपनि उक्त कार्यक्रम नेपालमा आयोजना गर्न कस्सिनु भएको हो । तर, बलिउडका सेलिब्रेटीहरु काठमाडौं आउँदै गर्दा धुवाँधुलोको कारण श्वास फेर्न नसकेर सर्जिकल मास्क लगाउन थाले भने कस्तो खाले पर्यटन प्रवर्धन होला ? जुहि चावलाले त लगाइन नी सर्जिकल मास्क गत बर्ष काठमाडौं घुम्दा !
पर्यटनको विकासको लागि पर्यटनलाई बुझ्ने र कार्यान्वयनमा लैजाने सम्बन्धमा आधारभुत समस्या छ, नेपालका सरोकारवालाहरुमा । बलिउड अवार्डको कुरा चलिहालेको हुनाले एउटा चर्चित बलिउड सिनेमाको उदाहरण बाटै कुरा शुरु गरौं ।
हिमाल, पहाड, झरना आदि हाम्रो देशमा ‘राम्रा’ छन् त्यसैले पर्यटक आउनै पर्छ नआए उसैले त्यस्तो अदभुत सुन्दरताको रस्वास्वादन गर्नबाट बञ्चित हुने हो भन्ने आत्मरतिमा लपेटिएर पर्यटनको विकास हुँदैंन ।
चर्चित हिन्दी फिल्म पद्मावतमा राजस्थानकी महारानी पद्मावातिको सुन्दरताको वयान सुल्तान अलाउदिन खिल्जीलाई मराठाको पुजारीले यसरी बयान गर्छन कि आजसम्म संसारमा यतिको सुन्दर महिला न थिइन् न हुनेवाला छिन् । संसारमा मात्रै होइन देवलोकमा पनि यतिको सुन्दरता भएकी सुन्दरी भटिदैंन ।
पुजारीले पद्मावतको बारेमा गरेको सुन्दरताको बयानलाई आधार मानेर पद्मावातको रुप हेर्न र प्राप्त गर्न लडाइ गर्न धेरै मानिसहरु तयार हुन्छन् र गर्छन् पनि त्याे सबै कथा कसरी सुनायाे भन्ने विषयले भएकाे हाे । हाे, त्यहि छुटेकाे छ नेपालकाे पर्यटन प्रवर्धनमा ।
के हो पर्यटन ?
पर्यटनको अर्न्तय भनेको ‘पर्यटकिय उत्पादन’को निर्माण र त्यसको चुस्त बजारीकरण हो । उत्पादन ‘राम्रो’ हुनुपर्छ भन्ने कुराले खासै अर्थ राख्दैन । हिमाल, पहाड, झरना आदि हाम्रो देशमा ‘राम्रा’ छन् त्यसैले पर्यटक आउनै पर्छ नआए उसैले त्यस्तो अदभुत सुन्दरताको रस्वास्वादन गर्नबाट बञ्चित हुने हो भन्ने आत्मरतिमा लपेटिएर पर्यटनको विकास हुँदैंन ।

कङक्रिट सहर भनेर चिनिने सिङ्गापुर र हङकङ अनी मगज तताउने मरुभुमि भएका दुबई जस्ता देशले करोडौं पर्यटक भित्राएबाटै ‘सुन्दरता’को अर्थ पर्यटनमा हुँदैंन भन्ने कुरा प्रष्ट हुन्छ । आफ्नो पर्यटकिय उत्पादनको निर्माण र पर्यटकहरुमा त्यसको महत्व स्थापित गर्न सक्ने कलाले मात्र पर्यटनमा बाजी मार्न सकिन्छ ।
नेपालको ‘सुन्दरता’को बयान गर्ने र त्यसको आकर्षण स्थापित गर्ने काम नेपाल पर्यटन बोर्डको हो , जसले नेपालमा पर्यटकलाई घुम्न जाऔ–जाऔ जस्तो लगाउने काम गर्नु पर्छ । नेपालको पर्यटकिय गतिविधिको प्रर्वधनात्मक कार्यका लागि नेपाल पर्यटन बोर्डको स्थापना भएको करिब २० बर्ष भैसक्यो । यसले नेपालको पर्यटकिय क्षेत्रको पहिचान गर्ने, प्रवर्धन गर्ने तथा यसको व्यवस्थापनको लागि आवश्यक कार्य गर्ने गर्छ । तर, काठमाडौं उपत्यका भन्दा साना देशहरुले करोडौं पर्यटक भित्राइरहँदा हामी १२–१५ लाखकै संख्यामा रमाइरहेका छौं । त्यसमा पनि अधिकांस पशुपति आउने भारतीय पर्यटक होलान् जसले यहाँ गर्ने खर्च निकै नै न्युन हुन्छ ।
तथ्याङ्कमा नेपाली पर्यटन
हवाईमार्गबाट सन् २०१८ मा भारतीय बाहेक ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या सन् २०१७ भन्दा करिब २५ प्रतिशत बढि हो ।
यसमा सबैभन्दा धेरै भारतबाट आएका छन् । त्यसपछि क्रमश चीन, अमेरिका, श्रीलङ्का र बेलायतबाट धेरै पर्यटकहरु नेपाल आएका छन् । यी पाँच देशले नेपाल आउने कुल पर्यटकको संख्याको ४९ प्रतिशत हिस्सा ओगटछन् । पछिल्लो समय नेपालमा चीन, थाईल्याण्ड र श्रीलङ्काबाट आउने पर्यटकको हिस्सा क्रमश बढदै गएको छ ।
पर्यटक बढ्दै खर्च घट्दै
पर्यटकहरुको आगमनको सार्थकता उनीहरुले यहाँ गर्ने खर्चले मात्र पुष्टि हुन्छ । खर्च जति बढि भयो त्यत्ति नै अर्थतन्त्र लाभान्वित हुने । संख्याले मात्र खासै अर्थ राख्दैन । तर, नेपालमा पर्यटकको संख्या वृद्धि सँगै पर्यटकको प्रतिदिन खर्च बढनुको सट्टा तथ्याङ्कले घटेको देखाएको छ ।
सन् २०१७ मा नेपाल आउने पर्यटकको प्रतिदिन खर्च ५४ अमेरिकी डलर थियो भने सन् २०१८ मा ४४ डलर मात्र रहेको छ ।

‘भारतीय पर्यटकको आगमनमा भएको वृद्धि, एकदिने लुम्बिनि बसाईको प्याकेजमा वृद्धि, चीनियाँ पर्यटकले आफ्नै गाइड लिएर आउने प्रबृत्ति तथा सस्तो भाडा दर भएका हवाईजहाज कम्पनीको बृद्धि जस्ता कारणले पर्यटकको खर्च घटिरहेको छ’, नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बराल बताउँछन्, ‘सस्तो हवाई भाडा दर हुँदा स्तरिय पर्यटक आउँदैनन् र खर्च पनि कम गर्छन् । अनी, नेपालमा पर्यटकलाई कुनै खालको न्युनतम खर्चको सिमा तोकिएको छैन । भुटानमा पर्यटकले प्रतिदिन २०० डलर खर्च गर्नै पर्ने हुन्छ । ’
नेपालमा कति समय बस्छन् पर्यटक
सन् २०१८ मा नेपाल आउने पर्यटकको औसत बसाई १२.४ दिन रहेको छ । सन् २०१७ मा पर्यटकको बसाईको १२.६ दिन थियो ।
पर्यटनको अर्थतन्त्रमा योगदान
आर्थिक बर्ष २०७४/०७५ मा पर्यटन क्षेत्रले ६७ अर्व ९ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ । यो भनेको नेपालले आर्जन गरेको कुल विदेशी मुद्राको २४.८ प्रतिशत हो । यो क्षेत्रले नेपालको कुल ग्राहस्थ उत्पादनमा २.२ प्रतिशतको योगदान गरेको छ । र, नेपालको भुक्तानी सन्तुलनलाई कायम राख्न केही हदसम्म सकारात्मक योगदान पुर्याएको छ ।
पर्यटनको अन्तराष्ट्रिय अवस्था
संसारमा पर्यटन क्षेत्रबाट मनग्य आम्दानी गर्ने मुलक धेरै छन । संसारमा पर्यटनबाट धेरै आम्दानी गर्ने ५ मुलुकका सूचिमा अमेरिका, स्पेन, फ्रान्स, थाइल्याण्ड र संयुक्त अधिराज्य रहेका छन् ।
संख्याको हिसाबले अत्याधिक पर्यटक भित्त्र्याउने मुलुकहरुको सूचीमा फ्रान्स पहिलो स्थानमा रहेको छ भने स्पेन, अमेरिका, चीन र इटाली क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् ।
नेपालको पर्यटन
नेपालमा मुख्यगरी पर्यटकहरु राष्ट्रिय निकुञ्ज तथा आरक्षणहरु, पशुपति, लुम्बीनी, मनास्लु ट्रेकिङ्ग तथा हिमाल आरोहणमामा बढि आउने गरेका छन् ।
आधुनिक दुनियाँमा पर्यटनमा अन्य धेरै अवयवहरुको विकास भैसक्दा पनि नेपाल भने परम्परागत ‘साइट सिन’मा मात्र रुमल्लिरहेको छ ।
यसका लागि आवश्यक पर्ने टुरिष्ट गाइड तथा पर्यटनसँग सम्बन्धित अन्य जनशक्तिहरु शैक्षिक कोर्षतर्फ ४२० र तालिम तर्फ ११९३ तयार भएका छन् । होटलहरु थपिने क्रममा छन् भने अवस्यक पूर्वाधार निर्माणले केही गति लिएको छ ।
नेपालको पर्यटन किन साँघुरिएको ?
अरु देशले करोडौं पर्यटक भित्राएर अर्बौं डलर कमाउँदै गर्दा असाध्यै ‘राम्रो र सुन्दर’ भनिएको हाम्रो देशको अवस्था किन यस्तो त ?
पर्यटकीय उत्पादनहरुको पहिचान र बजारीकरणमा रहेका सिमितता, पूर्वाधारहरुको कमी, राष्ट्रिय ध्वजावाहकको सिमितता लगायतका कारण नेपालमा पर्यटनको उल्लेख्य विकास र बिस्तार हुन सकेको छैन ।
‘पर्यटकहरुले घुम्ने ठाँउको छनौट गर्नु उसको मानसिकतामा भर पर्ने कुरा हो । उस्तै खाले ठाँउहरुमा कुन ठाँउ पहिलो छनोट गर्ने भन्ने कुरामा अनुभव र सल्लाहको महत्वपुर्ण ठाँउ हुन्छ । सेलिब्रेटि र चर्चित मानिसहरको घुमाइले पनि कतिपय देश र ठाउँहरु आम मानिसहरुको रोजाइमा पर्छन् । उदाहरणको लागि भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमण पश्चात त्यहाँको पर्यटनमा ह्वात्तै वृद्धि भएको छ ।’

नेपालमा पर्यटनको उल्लेख्य विकास हुन नसक्नुको कारण नेपालको पर्यटनको बिषयमा बुझाई निकै संकुचित भएर पनि हो । आधुनिक दुनियाँमा पर्यटनमा अन्य धेरै अवयवहरुको विकास भैसक्दा पनि नेपाल भने परम्परागत ‘साइट सिन’मा मात्र रुमल्लिरहेको छ । शैक्षिक, स्वास्थ्य, धार्मिक, अध्ययन, साँस्कृतिक, खानपान, याैन आदि क्षेत्रमा पनि पर्यटनको उल्लेख्य संभावना रहेको छ ।
नेपाल यति सानो देश भएर पनि संसारका अन्य धेरै देशहरुको तुलनामा भाषा, संस्कृति, खानपिन, गीतसंगीत आदि क्षेत्रमा धेरै नै धनी छ । यिनलाई पर्यटकिय उत्पादनका रुपमा प्रर्वधन गर्न अझै सकिएको छैन । हिमाल, पहाड र बुद्धले मात्र नेपालको पर्यटनको विकास गर्न सक्ने अवस्था छैन । त्यसैले नेपालले पर्यटनको विकासमा आफ्ना प्रतिस्पर्धी क्षमता भएका सबै क्षेत्रहरुको पहिचान र विकास गर्नुको विकल्प छैन ।