९० लघुवित्तले गरे साढे २ खर्ब ऋण लगानी

काठमाडौं । देशका ९० लघुवित्त संस्थाले तीन हजार ८६१ शाखामार्फत २ खर्ब ५६ अर्ब लगानी गरेको जनाएका छन् । नेपाल लघुवित्त बैंकर्स सङ्घले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा २८ लाख पाँच हजार ऋणीमार्फत ऋण प्रवाह गरेको जानकारी दिइयो ।

 

सो अवसरमा सङ्घका अध्यक्ष वसन्तराज लम्सालले लघुवित्तले आधाभन्दा बढी रकम कृषि क्षेत्रमा लगानी गरेको भन्दै त्यसमा कृषकले अनुदान पाउन नसकेको बताए ।

 

ठूला किसानले करोडौँ ऋण रकमको ब्याजमा पाँच प्रतिशत अनुदान पाउने गरेको भए पनि लघुवित्तबाट ऋण लिएर कृषिकर्म गर्नेले अनुदान पाउन नसकेको उनको भनाइ थियो ।

 

त्यसैगरी कृषि बीमाको सरकारले दिने ७५ प्रतिशत अनुदान रकमबाट पनि साना किसान बञ्चित भएको उनले बताए। लम्सालले भने, “लघुवित्तबाट ऋण लिएका कृषकले ब्याजमा सहुलियत र बीमाको भुक्तानीमा पाउनुपर्ने अनुदान पाएका छैनन् ।”

 

नेपालका लघुवित्तहरुले ९८ अर्ब ७५ करोड रुपैयाँ बचत सङ्कलन गरेका छन् । शेयर रकम २५ अर्ब हाराहारी रहेको भन्दै लम्सालले बाँकी सबै रकम बैंकहरुबाट महँगो ब्याजमा लिएर लगानी गरेको जानकारी दिए ।

 

लघुवित्तको ब्याजदर बढी हुनु स्वभाविक भएको भन्दै उनले अहिले बैंकबाट १३ प्रतिशतसम्ममा रकम लिएर १८ प्रतिशतमा लगानी गर्नुपर्दा ब्याजदर बढी भएको उनको भनाइ छ । यद्यपि विश्वका अन्य देशको तुलनामा यहाँका लघुवित्तको ब्याजदर कम भएको लम्सालले दाबी गरे ।

 

सङ्घका महासचिव रामबहादुर यादवले राष्ट्र बैंकबाट सहुलियतमा लघुवित्त बैंकले रकम पाउन नसकेको भन्दै दुई प्रतिशतमा सरकारी पैसा ल्याएर महङ्गोमा ब्याज लगाउने गरेको हल्ला निराधार भएको बताए ।

 

सो अवसरमा कर्जाको दोहोरोपना, कर्जाको गुणस्तरमा ह्रास, कर्जाको स्रोतको अपर्याप्तता, कर्जा कोषको ब्याजदर महङ्गो र अस्थिरजस्ता समस्या लघुवित्तले भोग्नुपरेको महासचिव यादवको भनाइ थियो ।

 

लघुवित्त संस्थामा कार्यरत एकदुई कर्मचारी र संस्थाका कारण सबै लघुवित्तलाई मुछेर बदनाम गर्ने काम भइरहेको भन्दै सङ्घले गम्भीर ध्यानाकर्षणसमेत सो अवसरमा गरेको थियो । लघुवित्तमा ४५ लाख ४६ हजार सेवाग्राही छन् । देशका ७७ जिल्लामा लघुवित्तको पहुँच रहेको सङ्घका उपाध्यक्ष भेषराज पन्थीले जानकारी दिए ।

कलंकीदेखि चाबहिलसम्मको सडक विस्तारको काम अघि बढ्यो Read Previous

कलंकीदेखि चाबहिलसम्मको सडक विस्तारको काम अघि बढ्यो

शेयर बजारमा उछाल कायमै, पौने ३ करोडको कारोबार Read Next

शेयर बजारमा उछाल कायमै, पौने ३ करोडको कारोबार