खाद्यन्नदेखि कपडासम्मः १० अर्वको सामान चिनियाँ नाकामा थन्कियो

काठमाडौं। पछिल्लो समय कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका थुप्रै कन्टेनरहरु रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र तातोपानीको खासामा यी कन्टेनरहरु रोकिएका हुन् । चीनबाट सामान ढुवानी हुने उक्त कन्टेनरहरु नाकामै रोकिँदा हालसम्म करिब १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै थन्किएको संघका अध्यक्ष बच्चु पौडेलले जानकारी गराएका छन् ।

 

नेपालले चीन जाने आफ्ना सबै नाका बन्द गरेको छ भने गएको जनवरी दोस्रो सातादेखि चीन आवतजावतमा समेत रोक लगाइएको अवस्था छ । यससँगै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल व्यापारीहरुले चीनको विकल्प खोज्न थालेको बताउँछन् ।

 

छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक असर देखिन थालिसकेको छ । विगतमा ४ वर्षअघि भारतले नेपाललाई लगाएको अघोषित नाकाबन्दी पश्चात चीनतर्फ नेपालको व्यापार वृद्धि हुन थालेको थियो । यद्यपि, हाल फैलिएको उक्त संक्रमणका कारण पछिल्लो महिनादेखि चीनसँगको व्यापारमा ह्रास आउन थालेको व्यापारीहरु बताउँछन् ।

 

चीनबाट लत्ताकपडा तथा अन्य वस्तु आपूर्ति ठप्प हुँदा बजारमा फेन्सी सामानको भण्डारण रित्तिँदै गएको छ । केरुङ नाका चीनले एकतर्फी बन्द गरेपछि व्यापार ठप्प भएको व्यापारीहरु बताउँछन् । चीनबाट आपूर्ति ठप्प हुँदा नेपाली बजारमा गत महिनासम्म २५० रुपैयाँ प्रतिकेजीको लसुन अहिले ६५० रुपैयाँ पुगेको छ ।

 

‘चीनसँगको निर्यात ठप्प हुँदा व्यापारीले अर्को नयाँ गन्तव्य खोज्नु आवश्यक छ, जसका कारण नेपालको अर्थतन्त्रमा केही समय शिथिलता आउन सक्ने उच्च सम्भावना छ’

 

यसबाट आगामी दिनमा अन्य वस्तुको मूल्य वृद्धिको क्रम जारी हुने प्रष्ट पार्दछ । चीनबाट नेपालले लत्ताकपडा, विद्युतीय सामाग्री, औषधी, मलखाद लगायतका अन्य थुप्रै वस्तु आयात गर्ने गरेको छ । त्यस्तै, आल्मुनियम, ब्याग, क्यामरा, कस्मेटिक सामग्री, ब्याट्री, बिजुलीका सामग्रीहरु, मेडिकल इक्विपमेन्ट, पाइप तथा पाइप फिटिङका सामान पनि उत्तिकै मात्रामा आयात हुने गरेका छन् । यसरी चीनसँगको आयात–निर्यात लामै समय ठप्प भए नेपालको आर्थिक वृद्धिमा नै धक्का पुग्ने जानकारहरु बताउँछन् ।

 

त्यस्तै, चीनबाट आयात हुने वस्तु यसैगरी लामो समयका लागि रोकिन थाले अबका दिनमा तेस्रो मुलुकबाट महँगोमा सामान आयात गर्नुपर्ने बाध्यता आइपर्ने अर्थविद् केशव आचार्य बताउँछन् । यसले आगामी दिनमा मूल्यवृद्धि बढ्ने निश्चित रहेको उनको दाबी छ ।

 

‘अन्य मुलुकबाट वस्तु आयात गर्दा यसले बजारको मूल्य नियन्त्रणमा समस्या उत्पन्न गर्छ, अर्थविद् आचार्य भन्छन्, ‘चीनसँगको निर्यात ठप्प हुँदा व्यापारीले अर्को नयाँ गन्तव्य खोज्नु आवश्यक छ, जसका कारण नेपालको अर्थतन्त्रमा केही समय शिथिलता आउन सक्ने उच्च सम्भावना छ, आयात–निर्यात नभएपछि आर्थिक गतिविधि कम हुन्छ’, आचार्य भन्छन्, ‘हामीलाई चाहिने सामान बढी मूल्य तिरेर ल्याउनुपर्छ, जसले गर्दा सर्वसाधारणले आफ्नो बचत बढाउन सक्दैनन् । बचत बढेन भने बैंक तथा वित्तीय संस्थामा निक्षेपको समस्या हुन्छ’

 

निक्षेप नभएपछि बैंकहरुले कर्जा दिन र लगानी गर्न सक्दैनन् यसको प्रत्यक्ष असर पूर्वाधार निर्माण तथा औद्योगिक उत्पादनमा पर्न जाने उनको ठम्याई छ । मूल्यवृद्धिका कारण एकातिर कामदारको ज्यालाको माग बढ्छ भने अर्कोतर्फ निक्षेप कम हुँदा कर्जाको व्याज महँगो हुन जान्छ । त्यसका कारण उद्योगको उत्पादन लागत बढ्छ । यसप्रकारको आर्थिक चक्रका कारण समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने अर्थविद् आचार्यको भनाई छ ।

 

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा कोरोना भाइरसका कारण चीनको अर्थतन्त्रमा यसले ठूलो प्रभाव पारे पनि नेपालमा तत्काल त्यसको असर नदेखिने तर्क गर्छन् । यद्यपी आगामी दिनमा ठूला चाडपर्वको समयमा यसको प्रभाव भने देख्न सकिने उनको बुझाई छ ।

 

‘नेपालबाट कम मात्रामा वस्तुहरु चीन निकासी हुन्छन् । तर, भारतपछि सबैभन्दा बढी सामान नेपालले चीनबाटै आयात गर्छ’, उनले बताए, ‘चीनमा देखिएको भाइरसका कारण नेपालको व्यापार चक्र स्थानान्तरण (डाइभर्सन) हुने सम्भावना पनि उत्तिकै हुन्छ’

 

कोरोनाका कारण चीनको आर्थिक वृद्धि २ प्रतिशतमात्र हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । त्यसको असर नेपालमा पनि केही हदसम्म पर्ने विज्ञहरु बताउँछन् । कोरोनाको प्रभाव नेपाली अर्थतन्त्रमा १/२ प्रतिशतको हाराहारीमा पर्नसक्ने विज्ञहरुको अनुमान गरेका छन् ।

 

नेपालको वैदेशिक व्यापारमा मुख्य हिस्सा भारतपछि चीनको छ । तसर्थ, यी दुई छिमेकी देशमा केही प्रभाव देखिनसाथ त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्ने विज्ञहरु औंल्याउछन् ।

 

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा नेपालले चीनसँग कुल १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त व्यापारमध्ये चीनबाट १ खर्ब १८ अर्ब रुपैयाँको वस्तु तथा सामाग्री आयात भएको छ भने नेपालबाट मात्रै १ अर्ब १ करोड मूल्य बराबरको वस्तुहरु निर्यात भएका छन् ।

५ वर्षभित्र अत्याधुनिक पूर्वाधार सहित यस्तो बन्ने छ नेपालगञ्ज विमानस्थल Read Previous

५ वर्षभित्र अत्याधुनिक पूर्वाधार सहित यस्तो बन्ने छ नेपालगञ्ज विमानस्थल

कोकाकोलाद्वारा चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापनमा सहयोग Read Next

कोकाकोलाद्वारा चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापनमा सहयोग