५ वर्षभित्र अत्याधुनिक पूर्वाधार सहित यस्तो बन्ने छ नेपालगञ्ज विमानस्थल

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले (क्यान) नेपालगञ्ज विमानस्थल विस्तारका लागि मास्टर प्लान तयार पारेको छ । विस्तार पछि यो विमानस्थलको ‘रन वे’ २ हजार ६ सय ५० मिटर लामो हुने छ ।

 

यसको मास्टर प्लान तयार भइसकेको उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौडेलले बताए । उनका अनुसार उक्त विमानस्थल निर्माणका लागि १ सय १८ बिघा जमिन अधिग्रहण गर्नुपर्ने देखिएको छ । सो विभानस्थल निर्माण पछि ए–३२०, बी ७३७ र त्यसै अनुरुपका हवाइजहाजहरु समेत सञ्चालन गर्न सकिने छ ।

 

विमानस्थल निर्माणका लागि १२ अर्ब रुपैयाँका हाराहारीमा लागत अनुमान गरिएको छ । विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि डिजाइन भइरहेको छ । सो भवन निर्माणका लागि २ अर्बको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ ।

 

 

अबको ५ वर्षमा नेपालगञ्ज विमानस्थल फुटपाथ सुधारका साथै सिआरजे ७०० र डस ८ जस्ता हवाइ जहाजहरु अटाउने गरि विस्तार गरिने छ ।
विमानस्थलको भौतिक निर्माणका लागि मात्र ४ अर्बको हाराहारीको लागत अनुमान गरिएको छ । जग्गा अधिग्रहणका क्रममा ३ अर्ब लाग्ने अनुमान छ । विमानस्थलको मास्टर प्लान अनुसार काम सुरु भइसकेको पौडेलले बताए ।

 

‘विमानस्थल स्तरोन्नती गर्ने काम सुरु भइसकेको छ । ५ वर्षमा अत्याधुनिक पूर्वाधारसहितको विमानस्थल निर्माण गर्ने छौं,’ पौडेलले भने ।
यस्तै क्यानले नेपालगञ्ज, चन्द्रगढी, धनगडी, भरतपुर, जनकपुर, राजविराज, सुरखेत, जोमसोम, जुम्ला, सिमिकोट, रारा, ताप्लेजुङ, साफ्रेफेदी, लामिडाँडा लगायतका विभिन्न विमानस्थल निर्माणका लागि ५ वर्षे योजना बनाएको छ । ति विमानस्थलहरु अबको ५ वर्षको अवधिमा अत्याधुनिक भौतिक निर्माणसहित स्तोरन्नती गरिने बताइएको छ ।

 

 

२२ वटा विमानस्थल सञ्चालन बिहिन

देशभर कुल ५४ वटा विमानस्थल रहेका छन् । ति मध्ये ३२ वटा विमानस्थल मात्र सञ्चालनमा रहेका छन् । २२ वटा विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन । अहिले ३५ वटा विमानस्थलहरुमा ‘ओभर ले’ गर्ने काम भइरहेको छ । विगत २ वर्षमा ८ वटा विमानस्थलमा ‘ओभर ले’को काम सम्पन्न भएको छ ।

 

थप ८ वटा विमानस्थलमा यो आवभित्र ‘ओभर ले’ गरिने बताइएको छ । हाल डोल्पा, मछिनेचौर, कालिकोट बझाङ, बलेवा, गुल्मी, इलाम, तुम्लिङटार र सुर्खेत विमानस्थलमा ‘ओभर ले’ गर्ने काम भइरहेको छ ।

 

टुम्लिङटार र सुर्खेतमा ‘ओभर ले’को काम मात्र गरिने छ भने अन्य विमानस्थलहरुमा नयाँ ‘सरफेस’ राखिनेछ । हाल ‘ओभरल्याप’ गरिन लागेका ८ वटा मध्ये ६ वटा विमानस्थलमा घाँसे धावनमार्ग भएकाले कालोपत्र गरेर ‘ओभर ल्याप’ गरेर सरफेस निर्माण गरिने छ ।

 

विगतमा बनेका धावन मार्गहरु ‘ट्वीनअटर’ विमानलाई लक्षित गरेर बनाइएको थियो । त्यस अनुसार प्रत्येक धावनमार्ग ६ सेन्टी भन्दा माथिको रहेको छ । तर, अब भने त्यसमै ६ सेन्टी ओभर ल्याप थप गरेर त्यसमा एटीएफ ७२ समेत धान्न सक्ने गरी बनाइने छ ।

 

विगतमा रहेको सोही ओभर ल्यापमा सिआरजे क्यूरियस ८०० जहाजहरु चलाइदैं आएको छ । अब बन्ने धावनमार्गहरुले ठूला जहाजहरुलाई समेत धान्न सक्ने छन् । यस्तै क्यानले बन्द रहेका विमानस्थलहरु समेत विस्तारै सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

स्पोर्ट अवार्डमा ग्लोबल आइएमई बैंकको नगद पुरस्कार प्रायोजन Read Previous

स्पोर्ट अवार्डमा ग्लोबल आइएमई बैंकको नगद पुरस्कार प्रायोजन

खाद्यन्नदेखि कपडासम्मः १० अर्वको सामान चिनियाँ नाकामा थन्कियो Read Next

खाद्यन्नदेखि कपडासम्मः १० अर्वको सामान चिनियाँ नाकामा थन्कियो