मेगा बैंकले कतारको दोहा बैंकबाट २ अर्ब ऋण ल्याउँदै

काठमाडौं । मेगा बैंकले कतारको दोहा बैंकबाट २ अर्ब रुपैयाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगाले दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करीब २ अर्ब २५ करोड रुपैयाँ) ऋण ल्याउन लागेको हो ।

 

ऋण सम्बन्धी सम्झौतापत्रमा आइतबार मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच हस्ताक्षर भएको छ ।

 

दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो । नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्र्याउने छ । कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।

 

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपूँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्राउन लागेको मेगा बैंकले जनाएको छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रूपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने बैंकको विश्वास छ ।

 

मेगा बैंकले हाल देशभरका १११ शाखा, २९ एक्सटेन्सन काउन्टर, ११४ एटीएम सञ्जाल, ७९ शाखारहित बैंकिङ केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

विद्युत् चोरी तथा चुहावट  नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब Read Previous

विद्युत् चोरी तथा चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब

‘स्टार्टअप बिजनेश’लाई ५०% सम्म अनुदान दिँदै सरकार Read Next

‘स्टार्टअप बिजनेश’लाई ५०% सम्म अनुदान दिँदै सरकार