काठमाडौं । पछिल्लो समय आक्रमक रूपमा कर्जा विस्तार गरेका वाणिज्य बैंकहरूले समयमै ऋण अशुल गर्न नसक्दा खराब कर्जा (नन पर्फमिङ लोन) बढ्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १५ ओटा बैंकको खराब कर्जा बढेको हाे । यस्तै गत आवको दोस्रो त्रैमासको तुलनामा १४ बैंकको खराब कर्जा बढेको छ ।
आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महीनामा बैंकहरूको खराब कर्जा १.५४ प्रतिशत रहेको थियो । चालू आवको समीक्षा अवधिमा बैंकहरूको खराब कर्जा गत आवको तुलनामा ०.०९ प्रतिशतले बढेर औसतमा १.६३ प्रतिशत पुगेको छ । गत आवको चौथो त्रैमाससम्म आइपुग्दा बैंकहरूले न्यून मात्रमा खराब कर्जा घटाए पनि चालू आवको पहिलो त्रैमासदेखि नै खराब कर्जा बढ्दै गएको हाे ।
गत आवको चौथो त्रैमासमा बैंकहरूको औसत खराब १.३७ प्रतिशत थियो भने चालू आवको पहिलो त्रैमासमा बढेर १.५४ प्रतिशत पुगेको थियो । पहिलो त्रैमासमा बैंकहरूको खराब कर्जा करीब ४० अर्ब रहेको दोस्रो त्रैमासमा बढेर साढे ४२ अर्ब पुगेको छ ।
निक्षेप संकलन, कर्जा लगानी, खुद आम्दानी लगायत सूचकमा पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक खराब कर्जामा पनि पहिलो नम्बरमै रहेको छ । यसले बैंकले नाफा कमाउने उद्देश्यले अन्धाधुन्ध ऋण प्रवाह गरेको तर, जारी भएको कर्जा समयमै अशुल्न नसकेको देखिन्छ ।
बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रोे त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार कुल २६ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरूको खराब कर्जा मात्रै साढे ४२ अर्ब छ । औसतमा बैंकहरूको खराब कर्जा करीब डेढ करोडभन्दा माथि पुगेको छ ।

दोस्रो त्रैमाससम्ममा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको छ । एभरेष्टले पछिल्लो त्रैमासहरूमा क्रमशः खराब कर्जा घटाउँदै लगेको छ । गत आवको दोस्रो त्रैमासमा ०.१८ प्रतिशत खराब कर्जा रहेको बैंकले पहिलो त्रैमासमा ०.१७ प्रतिशतमा झारेको थियो भने चालू आवको दोस्रो त्रैमासमा ०.१६ प्रतिशतमा झारेको छ ।
यस्तै, दोस्रो त्रैमासमा कम खराब कर्जा हुने बैंकहरूमा क्रमशः स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआई ०.१७, सानिमा ०.४१, माछापुच्छ्रेको ०.४५, एनआईसी एशिया ०.४६, नबिल ०.७५, लक्ष्मी ०.८८, सिटिजन्सको ०.९९ प्रतिशत रहेकाे छ ।

दोस्रो त्रैमासमा ३ बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा माथि रहेको छ भने १५ बैंकको खराब कर्जा १ प्रतिशत भन्दा माथि रहेको छ ।
खराब कर्जा धेरै हुनेमा सरकारी बैंक अग्रपंक्तिमा
दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार धेरै खराब कर्जा हुने बैंकहरूमा सरकारी स्वामित्वका बैंकहरू अग्र पंक्तिमा छन् । दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको खाराब कर्जा पनि सबैभन्दा धेरै रहेको । दोस्रो त्रैमाससम्ममा १ खर्ब ४७ अर्ब कर्जा लगानी गरेको बैंकको खराब कर्जा ४.७७ पुगेको छ । गत आवाको समीक्ष अवधिमा बैंकको खराब कर्जा ३.४० प्रतिशत थियो ।
निक्षेक संकलन, कर्जा लगानी, खुद आम्दानी लगायत सूचकमा पहिलो नम्बरमा रहेको बैंक खराब कर्जामा पनि पहिलो नम्बरमै रहेको छ । यसले बैंकले नाफा कमाउने उद्देश्यले अन्धाधुन्ध ऋण प्रवाह गरेको तर, जारी भएको कर्जा समयमै अशुल्न नसकेको देखिन्छ ।
राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जाको सीमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा नजिक पुगेको छ । राष्ट्र बैंकले कुनै पनि बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुनु नहुने गरी सीमा तोकेको छ । यदि बैंकको खराब कर्जा केन्द्रीय बैंकले तोकेभन्दा बढी भएका राष्ट्र बैंकले सम्बन्धित बैंकलाई कारबाही गर्दै विभिन्न कार्य गर्न रोक लगाउने व्यवस्था छ ।
यस्तै खराब कर्जा धेरै हुने बैंकको दोस्रो सूचीमा पनि सरकारी स्वामित्वकै कृषि विकास बैंक रहेको । कृषिको खराब कर्जा ३.९१ प्रतिशत छ । बैकले गत आवको समीक्षा अवधिको तुलनामा भने खराब कर्जा केही घटाएको देखिन्छ । गत आवको दोस्रो त्रैमासमा कृषिको खराक कर्जा ४.५० प्रतिशत थियो ।
यस्तै, सरकारी स्वामित्वकै नेपाल बैंकको पनि खराब कर्जा निजी क्षेत्रका अधिकांश बैंकको तुलनामा बढी नै छ । नेपाल बैंककाे खराब कर्जा २.६६ प्रतिशत रहेको छ । चालू आवको दोस्रो त्रैमासमा खराब कर्जा धेरै हुने बैंकहरूमा प्रभु ३.१२, नेपाल इन्भेष्टमेन्ट २.९०, सिभिल २.६९, एनसीसी २.८२ प्रतिशत रहेको छ ।
कसरी बढ्छ खराब कर्जा
बैंकहरूले प्रवाह गरेको कर्जा तोकिएको मितिको ९० दिन भित्र अशुल गर्न नसकेका त्यस्तो कर्जा खराब कर्जामा परिणत हुन्छ । बैंकहरूले धितोमा राखेको सम्पत्ति लिलामीबाट केही रकम अशुल गर्ने भएपनि सबै कर्जाको धितो पर्याप्त नहुने अवस्था खराब कर्जा झनै बढ्छ ।
बैंकहरूबीच नाफा बढाउने अस्वभाविक होडले आक्रमक रूपमा कर्जा प्रवाह गर्नु, लगानी गरेको कर्जा समयमै अशुल्न नसक्नाले बैंकहरूको खराब कर्जा बढेको हो । बैंकिङ क्षेत्रमा लगातार बढेको ब्याजदरले समग्र अर्थतन्त्रलाई नै प्रभाव पारेकाले समयमै कर्जा नउठ्ने समस्या बढ्दै गएको हो ।
यसले मुख्यतः मध्यम वर्गीय जनतालाई असर पारेको छ । बैंकको ब्याज बढिरहने तर, जनताको आम्दानी सोही अनुपातमा बढ्न नसक्दा उनीहरूले समयमै ऋण तिर्न सकेका छैनन् । यसले समग्र बैंकिङ्ग प्रणालीमै खराब कर्जा बढ्दै गएको छ । यो बैंकिङ प्रणाली तथा समग्र अर्थतन्त्रकै लागि नकरात्मक पक्ष हो ।
खराब कर्जा बढेसँगै बैंकको समग्र प्रगतिमा असर पार्छ । बैंकले कर्जा प्रवाह गर्दा नै संभावीत जोखिमबापत रकम छुट्याउनु पर्ने प्रावधान रहेको छ । कर्जा प्रवाह गर्ने बित्तिकै कर्जाको १ प्रतिशत, ३ महिना भित्र ऋणीले साँवा तथा ब्याज तिर्न सकेन भने बैंकले सो कर्जाको २५ प्रतिशत रकम संभावीत जोखिम बापत छुट्याउनु पर्छ ।
त्यस्तै गरी ६ महिनासम्ममा अशुल नभए ५० प्रतिशत, ९ महिनासम्मा अशुल नभए ७५ प्रतिशत र १ वर्षसम्म पनि अशुल नभए शतप्रतिश रकम कर्जा जोखिम व्यवस्था वापत छुट्याउनु पर्छ । कर्जा अशुली हुन नसके यसरी जोखिम व्यवस्थापन गरेको रकम फिर्ता हुँदैन् । यसले बैंकहरूको लगानी योग्य रकमको साथै नाफामा समेत असर पार्छ ।
खराब कर्जा बढे पनि बैंकहरू भने अझै नाफा कमाउने ध्याउन्नमा आँखा चिम्लेर कर्जा लगानी गरिरहेका छन् । दोस्रो त्रैमाससम्ममा आउँदा केही बैंकहरूको कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा भेटिसकेको छ । जसले गर्दा बैंकहरूलाई थप कर्जा लगानी गर्न समस्या भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूकाे सीसीडी अनुपात ८० प्रतिशत भन्दा माथि पुर्याउन नपाउने व्यवस्था गरेको छ ।