बजेटको आकार र विकास खर्च घटाएर कसरी होला ८.५% आर्थिक वृद्धि

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बजेट आकार घटाएपनि सो आवको आर्थिक वृद्धिदरको लक्ष्य भने यथावत राखेको छ । चालू आवको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै आर्थमन्त्री युवराज खतिवडाले राजश्व असुली र बजेटको आकार कम गरेका छन् । यद्यपि सो आवको आर्थिक वृद्धिदरको लक्ष्य भने पहिलेकै यथावत राखिएको खतिवडाले बताएका छन् ।

 

चालू आवको बजेटले मुलुकको आर्थिक वृद्धिदरको लक्ष्य ८ दशमलव ५ प्रतिशत निर्धारण गरेको थियो । केही समयअघि मात्रै विश्व बैंकले पनि चालू आवमा नेपालले ६ दशमलव ४ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिसकेको छ । सरकारले बजेटको आकार र राजश्वको लक्ष्य नै साँघुरो पारेको हालको अवस्थामा उक्त ८ प्रतिशतको वृद्धिदर प्राप्त गर्न सम्भव नरहेको अर्थविद्हरुको ठम्याई रहेको छ । ‘कुल बजेटको आकार तथा विकास खर्चको आकार नै घटाइएको अवस्था छ, यस्तोमा सरकारले पहिलेकै आर्थिक वृद्धिदरको लक्ष्य यथावत राख्नु निकै गम्भीर विषय हो’, अर्थविद् केशव आचार्य बताउँछन् ।

 

त्यस्तै, पछिल्लो समय छिमेकी मुलुक भारतको अर्थतन्त्र खुम्चिएको छ भने अर्कोतर्फ चीनमा फैलिएको कोरोना भाइरसका कारण समग्र मुलुकको अर्थतन्त्र प्रभावित भइसकेको छ । यस्तोमा सरकारले राखेको लक्ष्य प्राप्त हुन नसक्ने आचार्यको दाबी छ ।

 

अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्रीले पुँजीगत खर्च र राजस्व संकलन लक्ष्य अनुरुप नहुने, कृषि उत्पादन घटेको, पूर्वाधार निर्माणको गति सुस्त भएको, राष्ट्रिय गौरवका आयोजनाको प्रगति कमजोर रहेको, समग्र व्यापारमा कमी आएको तथ्यांक प्रस्तुत गरेका छन् । तर, उच्च आर्थिक वृद्धिलाई सघाउने अधिकांश क्षेत्र कमजोर बन्दा पनि आर्थिक वृद्धिदर भने लक्ष्यको हाराहारीमै हुने अर्थमन्त्रीले दाबी गरेका छन् ।

 

पछिल्लो समय नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १५ प्रतिशत हिस्सा रहेको मुलुकको वैदेशिक व्यापारको अवस्था निकै कमजोर बन्दै गएको छ । चालु आवको ६ महिनामा वैदेशिक व्यापार २.६ प्रतिशत घटेको सरकारी तथ्यांकले नै प्रष्ट पारेको छ । यसरी सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भनेपनि सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदरको लक्ष्य सम्भव नहुने स्पष्ट देखिन्छ ।

 

विगतको अनुभवले समेत वैदेशिक व्यापार घट्दा आर्थिक वृद्धिदरमा पनि नकारात्मक असर परेको तथ्यलाई देखाएका छन् । यसबाहेक आर्थिक वृद्धिदरमा मुख्य भूमिका निर्वाह गर्ने मुलुकभित्रको धान उत्पादनको अवस्थामा पनि यस आवमा करिब ९ प्रतिशतले कमी आउने सरकारी अनुमान रहेको छ । चालू आवमा करिब २ लाख हेक्टर जमिनमा धान खेती नभएको र ६० हजार हेक्टरको धान बाढी तथा फौजी किराका कारण नष्ट भएका कारण ५ लाख मेट्रिकटन धान उत्पादन कम हुने देखिएको छ ।

 

यसरी मुलुकको अर्थतन्त्रमा करिब २७ प्रतिशत हिस्सा रहेको कृषि क्षेत्रको उत्पादनमा नै कमी आउँदा सम्पूर्ण अर्थतन्त्र प्रभावित हुने देखिएको हो । यसले आर्थिक वृद्धिदरलाई समेत प्रत्यक्ष रुपमा प्रभाव पार्ने प्रष्ट नै रहेको छ ।

 

सरकारले आगामी ६ महीनामा सम्पन्न आयोजना/कार्यक्रमको दायित्वको भुक्तानीलाई प्राथमिकता दिई बजेट भुक्तानी गर्ने र बाँकी रहेको बजेट बाँडफाँट फागुन मसान्तभित्र निर्णय गरिसक्ने अर्थमन्त्री खतिवडाले जानकारी दिए । त्यस्तै, अर्धवार्षिक समीक्षामार्फत खतिवडाले आगामी फागुन मसान्तभित्र ठेक्का सम्झौता नगर्ने आयोजना तथा कार्यक्रमको बजेट खोस्ने पनि बताएका छन् ।

 

चालु आवको पहिलो ६ महीनामा पूँजीगत खर्च निकै कमजोर देखिएपछि अर्थ मन्त्रालयले बजेट खर्च गर्ने निकायले प्रारम्भिक प्रक्रिया नै पूरा नगरेमा बजेट फिर्ता गराउने नीति अवलम्बन गर्ने उनले स्पष्ट पारे । ‘बजेट कार्यान्वयन गर्ने निकायसमक्ष अब १ महीना समय छ, तोकिएको अवधिभित्र ठेक्का सम्झौता सम्पन्न नभए बजेट खोसिन्छ,’ अर्थमन्त्री खतिवडा भन्छन् ।

 

चालू आवमा पूँजीगत बजेट ४ खर्ब ८ अर्ब विनियोजन भएकोमा ६ महिनाको प्रगतिका आधारमा ३ खर्ब २७ अर्ब मात्रै खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ । यो विनियोजीत कुल पूँजीगत बजेटको ८० प्रतिशत हिस्सा हो । यद्यपी आर्थिक वर्ष सुरु भएको ६ महिना सकिँदासम्म पूँजीगत खर्च १५ दशमलव ३८ प्रतिशत मात्र भएको अर्थमन्त्री स्वयमले विवरण पेश गरेका छन् ।

 

राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजना, संघीय संसद् भवन, काठमाडौं उपत्यकाभित्र सडक विस्तार तथा स्तरोन्नति, अधुरा आयोजनालाई पूरा गर्न लाग्ने थप दायित्व भुक्तानी र भौतिक एवंम वित्तीय प्रगति राम्रो देखिएका विभिन्न सडक, सिँचाइ, खानेपानीका आयोजनाहरुमा प्रगतिको आधारमा थप रकम व्यवस्थापन गरी चालू आवमा पूँजीगत खर्च ८० दशमलव १ प्रतिशत पुर्याइने अर्थमन्त्रीले बताए ।

 

यता, सामाजिक सुरक्षा भत्तामा मासिक १ हजार वृद्धि, समपूरक र विशेष अनुदानको रकम हस्तान्तरण, कर्मचारीको तलबमा वृद्धि, रसायनिक मलको अनुदान थप, उखु किसानलाई थप अनुदान, पशुपन्छी बीमा कार्यक्रम र एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक कार्यक्रममा थप खर्च हुने भएकाले चालु खर्च शुरुको लक्ष्यको ९४ दशमलव ५ प्रतिशत हुने सरकारको संशोधित अनुमान छ । चालू आवमा कुल ९ खर्ब ५७ अर्ब रुपैयाँ चालू खर्चको लागि विनियोजन गरिएको थियो ।

असारमा तामाकोशीबाट विद्युत् उत्पादन सुरु हुने, ४७ किमि प्रशारण लाइन निर्माण सम्पन्न Read Previous

असारमा तामाकोशीबाट विद्युत् उत्पादन सुरु हुने, ४७ किमि प्रशारण लाइन निर्माण सम्पन्न

१५ बैंकको खराब कर्जा बढ्यो, कुनको कति (सूचीसहित) Read Next

१५ बैंकको खराब कर्जा बढ्यो, कुनको कति (सूचीसहित)