काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विद्युत प्रसारण लाइन निर्माणको कामसमेत लगभग सकिएकाले आगामी असार मसान्तसम्ममा यहाँबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाले जनाएको हो ।
४५६ मेगावाटको तामाकोशीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न गोंगर–खिम्ती २२० केभी प्रसारण लाइन निर्माण पुरा भएको छ । विद्युत गृह गोंगरदेखि खिम्तीसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइन आयोजना आफैले निर्माण गरेको हो । आगामी असार मसान्तसम्ममा विद्युत उत्पादन गरिसक्ने आयोजनाका प्रबक्ता गणेश न्यौपानेले जानकारी दिए ।
आर्थिक वर्ष २०६७/६८ देखि शुरु भई आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना भूकम्प लगायतका कारणले समयमा पुरा हुन सकेको थिएन । आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ रहेकोमा निर्माण अवधि लम्बिएपछि संशोधित लागत करिब ४९ अर्ब २९ करोड रुपैयाँ हुन पुग्ने अनुमान गरिएको छ । अयोजनाको अनुमानित व्याज खर्च २० अर्वभन्दा बढी हुने देखिएको छ ।
चालु आर्थिक वर्ष भर्टिकल पेनस्टक पाइप स्टिल लाइनिङको कार्य १ सय ५० मिटर सम्पन्न भइसकेको छ । २ सय ५२ मिटर (तल–१८७ मिटर र माथि–७४ मिटर) स्टिल लाइनिङ राख्ने कार्य सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।
भर्टिकल स्टफमा बाँकी ४ सय ५६ मिटर पेनस्टक जडान कार्य सम्पन्न भइसकेको छ । यस आयोजनाको ५ महिनासम्मको सिभिल कार्यतर्फ ९९.५ प्रतिशत काम सम्पन्न भएको छ भने हाईड्रो मेकानिकल उपकरण जडानको कार्य ९५.८ प्रतिशत सकिएको छ । इलेक्ट्रो मेकानिकलतर्फ भने ९९.६ प्रतिशत जडान कार्य सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७६/७७ मा आयोजनालाई १ अर्ब रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ६६ करोड ६६ लाख रुपैयाँ खर्च भइसकेको छ । यो खर्च प्रगति ६६.७ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा ३३.३ प्रतिशत रकम मात्र खर्च भएको थियो ।
स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी देशकै सबैभन्दा ठूलो निर्माणाधिन जलविद्युत आयोजना हो । आयोजनाले सर्वसाधरण र स्थानीय प्रभावितको लागि शेयर जारि गर्न अनुमति समेत पाइसकेको छ ।