काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आगामी नेतृत्वको लागि चुनावी रस्साकस्सी सुरु भएको छ । आज आफ्नो गृह जिल्ला विराटनगरबाट वरिष्ठ उपाध्यक्षको उमेद्वारको रुपमा किशोर प्रधानले आफ्नो उमेद्वारी घोषणा गरेका हुन्न् ।
वरिष्ठ उपाध्यक्षका अर्का उमेद्वार चन्द्रप्रसाद ढकालले यसअघि नै आफ्नो गृह जिल्ला बागलुङबाट उमेद्वारी घोषणा गरेका थिए ।
किशोर प्रधानले आज आफ्नो उमेद्वारी घोषणा गरेसँगै आगामी चैत २८ गते हुने महासंघको साधारण सभा तथा नयाँ निर्वाचनमा दुई प्यानल बीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
प्रधानले आफ्नो उमेद्वारी घोषणा सभामा २५ जिल्लाका अध्यक्षहरुलाई एकै स्थलमा उतारेर उमेद्वारी घोषणा गरेको जनाएका छन् ।
उनको उमेद्वारी घोषणा सभामा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, बिनोदबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष पशुपति मुरारका र वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको सहभागिता रहेको थियो ।
कार्यक्रममा संखुवासभा, त्रियुगा, सिराह, विरगंज, सप्तरी, लहान, काठमाडौं, ललितपुर, भक्तपुर, तनहुँ, तिलोतमा, कपिलवस्तु, दमक, मेची, पाँचथर, धनकुटा, सुन्दरदुलारी, धरान, इटहरी, डडेल्धुरा र सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
महासंघ कार्यकारिणी समिति सदस्य अञ्जन श्रेष्ठ, कृष्ण दुलाल, दिप कुमार श्रेष्ठ, गणेश लाठ र अशोक टेवानी सहितको टिम पनि विराटनगर पुगेको थियो ।
हाम्रो अभियान ‘सक्षम नेतृत्व, सशक्त महासंघ’ नारा दिएर उनको उमेद्वारी घोषणा भएको हो ।
को–को प्रतिस्पर्धी ?
आगामी निर्वाचनबाट महासंघको नेतृत्व शेखर गोल्छाले गर्दै छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान रहेकाले गोल्छा चैत २८ गतेपछि अध्यक्ष बन्ने छन् ।
वरिष्ठ उपाध्यक्षमा, जिल्ला/नगर उपाध्यक्ष, बस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्ष पदको लागि निर्वाचन हुँदैछ ।
वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान बीचमा प्रतिस्पर्धा हुँदैछ भने जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनीधि तिवारी बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । श्रेष्ठ बागमती प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष हुन् भने तिवारी ५ नम्बर प्रदेशका अध्यक्ष हुन् ।
त्यसैगरी बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको बीचमा प्रतिस्पर्धा हुने भएको छ । उमेशलाल श्रेष्ठ अहिलेपनि महासंघको बस्तुगततर्फका उपाध्यक्ष हुन् भने अञ्जन श्रेष्ठ उद्योग समिति सभापति हुन् ।
एसोसिएटतर्फको उपाध्यक्षमा अहिलेसम्म सौरभ ज्योतिले मात्र उमेद्वारी घोषणा गरेका छन् । उनको प्रतिस्पर्धामा अहिलेसम्म कसैलेपनि उमेद्वारी घोषणा गरेको छैन ।