‘देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने सरकारको तयारी’

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताएकी छिन् । उनले २६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता गरिसकेको जानकारी दिइन् ।

 

सहकारी विभागद्वारा आज आयोजित स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवद्र्धन विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले १३ बिघा फिर्ताको अन्तिम तयारीमा रहेको र ४६७ बिघा जमिन फर्काउने गरी प्रस्ताव गरेर प्रक्रिया अगाडि बढेको बताइन् ।

 

उनले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरिन् । सार्वजनिक जमिन संरक्षणको अभियान चलाइरहँदा जोसुकै परे पनि नछाड्ने प्रतिबद्धताका साथ सरकार अघि बढेको भन्दैउनले सुशासनका लागि सरकार दृढसङ्कल्पका साथ लागेको बताइन् ।

 

मन्त्रालयले देशभरका सरकारी तथा सार्वजनिक जमिनको प्रोफाइल तयार गर्न लागेको बताउँदै मन्त्री अर्यालले त्यस्ता जग्गाको संरक्षणमा स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराइन्।

 

समाजवादको लक्ष्य प्राप्तिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सहकारी कृषिको व्यावसायिक र आधुनिकीकरणतर्फ उन्मुख रहेको बताइन् । कृषि सहकारीमार्फत उत्पादन गरेर त्यसको प्रवद्र्धन गर्ने कुरा मौलिक पक्ष भएको उल्लेख गर्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन् ।

 

संविधानले राज्यको तीनखम्बे अर्थनीतिमा सहकारीलाई समावेश गरिसकेपछि यसको कार्यान्वयनका लागि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री अर्यालले राष्ट्रिय पूँजीको विकास नगरिकन समाजवादमा पुग्न नसकिने बताइन्।

 

सहकारीमा समावेशिता, निम्न आय भएका व्यक्ति र युवाहरुको सहभागिताको खोजी गरिनुपर्नेमा जोड दिँदै उनले उत्पादनमा लागेका सहकारीलाई सरकारले विशेष सहलियत दिने तयारी गरिरहेको जानकारी दिइन् । वार्षिक १७ हजार मानिसलाई रोजगारी सिर्जना गर्ने गरी सहकारीलाई अगाडि बढाउने योजना मन्त्रालयले लिएको उनको भनाइ थियो । रासस

धूलो दूध आयात रोक्ने सरकारी निर्णय एक वर्षपनि नटिक्ने संकेत Read Previous

धूलो दूध आयात रोक्ने सरकारी निर्णय एक वर्षपनि नटिक्ने संकेत

विराटनगरबाट किशोर प्रधानको उमेद्वारी घोषणा, को-को पुगे सभामा Read Next

विराटनगरबाट किशोर प्रधानको उमेद्वारी घोषणा, को-को पुगे सभामा