धूलो दूध आयात रोक्ने सरकारी निर्णय एक वर्षपनि नटिक्ने संकेत

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल बन्द गरेको दूग्ध आयात अब खुल्ला गर्ने संकेत दिएको छ । सरकारले २०७५/७६ मा नेपाल दूधमा आत्मनिर्भर भएको भन्दै धूलो दूध आयातमा पूर्ण रोक लगाएको थियो । तर, अब पुनः बजार माग धान्न नसक्ने भन्दै धूलो दूध आयात खुल्ला गर्ने तयारी भइरहेको छ ।

 

कृषि मन्त्रालयका सुचना अधिकारी तथा वरिष्ठ पशु विकास अधिकृत प्रदीपचन्द्र भट्टराईका अनुसार अहिले धुलो दूध आयात गर्नु पर्ने कारण दूध उत्पादन कम भएर नभई बजार माग बढेर भएको दाबी गरे ।

 

नेपालमा दूग्ध उत्पादनमा सन्तुलन नमिलेका कारण बाह्रैमास उपलब्धतामा भने समस्या देखिएको उनले बताए । उनका अनुसार दूध उत्पादन फागुन र भदौमा धेरै बढ्ने र त्यसपछिका समयमा कम हुने गरेको छ । त्यसैले दूध धेरै खपत हुने अन्य महिनामा दूधको उत्पादन कम हुने गरेको उनको भनाइ छ ।

 

‘त्यसैले यो असन्तुलनको हल गर्नका लागि धूलो दूध आयातका विषयमा व्यापारीले स्टक राख्न नपाउने गरी आयातको व्यवस्था मिलाउनका लागि छलफल भइरहेको छ’, भट्टराईले चाणक्य पोष्टसँग भने ।

 

उनले धूलो दूधको उत्पादन बढाउने काममा सरकार लागि परेको समेत बताए । ‘गत वर्ष ३ मेट्रिकटन धूलो दूध उत्पादन भएको थियो । यो वर्ष ६ मेट्रिकटन धुलो दूध उत्पादन गरिने छ । यसलाई हामी वर्षेनी बढाउने छौं,’ भट्टराइले भने ।

 

पछिल्लो समय स्थानीय स्तरमा खपत हुने दूधको माग बढेकाले उपत्यकामा आउने दूधको मात्रा भने घट्दै गएको छ । देशभर वार्षिक ५ करोड लिटर (३ हजार मेट्रिकटन) दूध खपत हुने गरेको छ । सामान्य समयमा देशभरबाट वार्षिक १ हजार देखि १५ सय मेट्रिकटनसम्म दूध उत्पादन हुन्छ

 

उनले हाल नेपालमा उत्पादन भएको धूलो दूधले माग धान्ने अवस्था नरहेकाले आयात गर्न लागेको बताए । धूलो दूध आयात गर्दा कति परिमाणमा आयात गर्न पाउने भन्ने तोकेरै दिने व्यवस्था गरिने उनको भनाई छ ।

 

विशेष गरेर साउन भदौमा चाडपर्व पर्ने र त्यस बेला वर्त बस्नेहरुका कारण पनि धेरै दूध खपत हुने गरेको भट्टराईको दाबी छ ।

 

‘साउन, भदौमा चाडपर्व र वर्त बस्ने धेरै हुने भएकाले  धेरै दूध खपत हुन्छ । त्यस बेला उत्पादन गर्नेले समेत आफैं बढि खपत गर्ने हुँदा बजारमा बढि दूध आउँदैन, त्यसको लागि हामीले विकल्प निकाल्नै पर्छ,’ भट्टराइले भने ।

 

गत वर्ष धूलो दूध आयात बन्द गर्नु अघि निजी कम्पनीहरुले धूलो दूध धेरै स्टक राखेका कारण दूधको उपलब्धता धेरै भएको थियो । गत वर्ष ‘मिल्क होलिडे’ मा समेत दूध बढी भएको थियो, जसले गर्दा किसानको दूध विक्री हुन सकेको थिएन ।

 

कृषि अर्थशास्त्री अन्जन अधिकारीका अनुसार अहिले आन्तरिक दूध मात्र प्रयोग भइरहेको छ, जसका कारण आगामी समयमा दूधको अभाव हुन सक्छ । सो समयका लागि धूलो दूध आयात नगरे पनि कच्चा दूध मात्र भएपनी आयात गर्नुको बिकल्प नरहेको उनी बताउँछन् ।

 

आउँदो समयमा ५ सय मेट्रिकटन दूध अपुग हुने अनुमान गरिएको छ । हाल ५ सय मेट्रिकटन दूध स्टकमा रहेको डीडीसीले जनाएको छ । फागुनसम्ममा ६ सय मेट्रिकटन दूध स्टक हुने अनुमान गरिएको छ । सो स्टकले दूधको माग धाने दूध आयात खुल्ला गर्नु नपर्ने अधिकारी बताउँछन्, तर, त्यसको संभावना नरहेको उनीले बताए ।

 

पछिल्लो समय स्थानीय स्तरमा खपत हुने दूधको माग बढेकाले उपत्यकामा आउने दूधको मात्रा भने घट्दै गएको छ । देशभर वार्षिक ५ करोड लिटर (३ हजार मेट्रिकटन) दूध खपत हुने गरेको छ । सामान्य समयमा देशभरबाट वार्षिक १ हजार देखि १५ सय मेट्रिकटनसम्म दूध उत्पादन हुन्छ ।

 

‘दूध उत्पादन राम्रो भएको बेला २ हजार मेट्रिकटन सम्म उत्पादन हुन्छ । उत्पादन कम भएको समयमा न्यूनतम १५ सय मेट्रिकटन दूध उत्पादन हुने हो । त्यतिले मात्र हामीलाई पुग्दैन,’ अधिकारीले भने ।

 

सामूहिक कृषक डेरीका अध्यक्ष रविप्रसाद रिजालका अनुसार धूलो दूध आयात अबको समयमा अनिवार्य बनिसकेको छ । उनका अनुसार अब सरकारले धूलो दूध आयात गर्न नदिए धेरै जसो डेरी बन्द हुने अवस्थामा पुग्ने छन् ।

 

दूध अभाव भएपछि सहकारीले दूधको मूल्य बढाउने र सरकारले दूधको मूल्य तोक्ने हुनाले सरकारले तोकेकै मूल्यमा विक्री गर्नुपर्ने बाध्यता रहेको रिजाल बताउँछन् ।

 

‘सरकारले दूधको मूल्य तोक्छ । दूध कम उत्पादन भएपछि सहकारीहरु दुधको मूल्य बढाउँछन् । हामीले त्यही दूध नकिनी सुख छैन । जतिमा भएनी किन्नै पर्यो, बेच्दा घाटानै हुन्छ,’ रिजालले चाणक्य पोष्टसँग भने ।

 

उनले गर्मीमा ४० देखि ५० प्रतिशतसम्म दूधको अभाव हुने बताए । जाडोमा उत्पादन हुने दूध ६० प्रतिशत मात्र खपत हुने र बाँकी स्टक रहने गरेको उनले बताए ।

 

उनले सरकारले मात्रा तोकेर त्यस अनुसार मात्र आयात गर्न दिए डेरीहरुले घाटा बेहोर्नुनपर्ने बताए ।

प्रभु बैंक र एन प्याब्सनबीच बैंकिङ कारोबार गर्ने सम्झौता Read Previous

प्रभु बैंक र एन प्याब्सनबीच बैंकिङ कारोबार गर्ने सम्झौता

‘देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने सरकारको तयारी’ Read Next

‘देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने सरकारको तयारी’