टेलिकमको दोस्रो त्रैमासमा नाफा बढ्यो

काठमाडौं । नेपाल टेलिकमको दोस्रो त्रैमासमा खुद नाफा बढेको छ । टेलिकमले बिहीबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण दोस्रो त्रैमासको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८ करोड ९५ लाख रुपैयाँ बढेको छ ।

 

टेलिकमले चालू आर्थिक वर्षको कात्तिकदेखि पुसमसान्तसम्ममा कम्पनीले २ अर्ब ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.२८ प्रतिशत बढी हो ।टेलिकमले गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब २२ करोड ३ लाख रुपैयाँ खुदा नाफा कमाएको थियो ।

 

त्रैमासिक नाफा बढेपनि टेलिकमको अर्धवार्षिक खुद नाफा भने घटेको छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको खुद नाफा ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५५ लाख रुपैयाँ कम हो।

 

पहिलो त्रैमासमा कम्पनीको बिक्री आम्दानी घटेका कारण दोस्रो त्रैमाससम्मको बिक्री आम्दानी पनि घटेको हो। टेलिकमले चालू आवको पुस मसान्तसम्ममा कम्पनीको बिक्री आम्दानी ४० करोड ४५ लाख रुपैयाँ घटेर १८ अर्ब ३ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ। पहिलो त्रैमाससम्ममा कम्पनीको बिक्री आम्दानी ४४ करोड ९८ लाख रुपैयाँ घटेको थियो।

 

१५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ७४ अर्ब ३६ करोड रुपैयाँ छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० पैसाले घटेर ६५ रुपैयाँ ८६ कायम भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ९.७९ गुणा छ भने प्रतिशेयर नेटवर्थ ५९५.७५ रुपैयाँ छ ।

नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई Read Previous

नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता Read Next

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता