काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गतको आबुखैरेनी-पोखरा सडकखण्ड विस्तार गर्न एसियाली विकास बैंक (एडीबी)ले ऋण दिने भएको छ । एसियाली विकास बैंकले उक्त सडकखण्ड विस्तार गर्न १९ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का उपआयोजना निर्देशक सुरेश पौडेलका अनुसार एडीबीले सडक विस्तार गर्न पहिलो चरणमा आबुखैरेनी–पोखरा सडकखण्डका लागि ऋण उपलब्ध गराउनेछ।
अहिले दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो । मुग्लिन–पोखरा सडकखण्ड ९३.५ किलोमिटरकोमा सुरुमा आँबुखैरेनीबाट पोखरासम्म ८६.८ किलोमिटर सुरुमा विस्तार गर्न लागिएको हो । एडीबीको मुख्यालयबाट उच्चस्तरीय टोली जेठ १३ मा मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो। उक्त टोलीको निरिक्षणपछि पहिलो चरणमा आबुखैरेनी–पोखरा खण्डमा सडक विस्तार गर्न ऋण उपलब्ध गराउने भएको हो।
आबुखैरनी-पोखरा सडकखण्ड निर्माण गर्न लाग्ने २५ अर्ब रुपैयाँ मध्ये १९ अर्ब एडीबी र ६ अर्ब नेपाल सरकारले लगाउने छ । निर्माण सम्पन्न पछि यो सडकखण्ड एसियाली हाइवे स्ट्यान्डर्डको हुनेछ ।
साउनमा ठेक्का लाग्ने
आबुखैरनी–पोखरा सडकखण्ड विस्तारका लागि साउनमा बोलपत्र आह्वान गरिने उपआयोजना निर्देशक पौडेलले जानकारी दिए। त्यसको लागि असारसम्म आवश्यक तयारी पूरा गर्ने लक्ष्य बनाईएको छ । यस्तै आयोजनाले मादी र सेती नदीमा सिग्नेचर ब्रिजपनि निर्माण गर्ने तयारी गरेको छ ।
त्यसको लागि सडक विभाग पुल महाशाखाले मादी र सेतीमा सिग्नेचर पुल बनाउन अध्ययन गरिरहेको छ । आयोजना र महाशाखाको समन्वयनका आधारमा पुलको टुंगो लगाइनेछ। उक्त पुल निर्माणको ठेक्का सडक विस्तारको ठेक्कासँगै आह्वान हुने छैन ।
कत्रो बन्नेछ सडक ?
पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक कति चौडा हुने निर्धारण गरिने डीपीआरमा उल्लेख छ। सहरी क्षेत्रमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ। विस्तारित सडक दुवैतर्फ ७/७ मिटरको हुनेछ।
एउटा लेन साढे तीन मिटर लामो हुन्छ। मुख्य सडकलाई एक अर्काबाट छुट्याउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ। सडकको दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुन्छ। ढल व्यवस्थापनका लागि दुवैतर्फ दुई मिटर छुट्याइएको हुन्छ। पैदल यात्रुका लागि एक÷एक मिटरको फुटपाथ हुन्छ।